Logo

२३ बैशाख, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा वरिष्ठ चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिशप्रसाद अग्रवाल नियुक्त हुनुभएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन समेत रहनुभएका अग्रवाललाई यो जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका विद्यमान चुनौती र चिकित्सा शिक्षाको समग्र सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक प्राविधिक परामर्श दिनुहुनेछ ।

स्वास्थ्य क्षेत्रमा लामो अनुभव र विज्ञता हासिल गरेका व्यक्तित्वको आगमनले सरकारी स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास सरकारले लिएको छ । डा. अग्रवालले यो जिम्मेवारी सम्हालेवापत राज्यकोषबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिने घोषणा गर्नुभएको छ ।

विशेषज्ञका रूपमा मात्र आफ्नो सेवा प्रदान गर्ने उहाँको यो प्रतिबद्धतालाई सकारात्मक रूपमा हेरिएको छ । आईओएममा रहँदा चिकित्सा शिक्षा सुधारका अभियन्ताका रूपमा चिनिएका अग्रवालको नियुक्तिले स्वास्थ्य क्षेत्रमा थप नीतिगत स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार