Logo

२३ वैशाख,काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडी डिलासैनी गाउँपालिका–३ घर भई हाल कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलाली बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी रहेका छन्।

उनीहरूविरुद्ध गुल्मीको धुर्कोट गाउँपालिका घर भई कीर्तिपुरमा बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप लागेको छ। घटना कीर्तिपुर नगरपालिका–१० पोडेटोल क्षेत्रमा भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार दिउँसो करिब साढे २ बजे घिमिरेमाथि धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका प्रारम्भिक अनुसन्धानअनुसार घटना साथी–साथीबीच भएको विवादपछि भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार