Logo

२४ वैशाख,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दुई दिनदेखि अवरुद्ध भएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा आएको प्राविधिक खराबीका कारण बुधबारदेखि सेवा प्रभावित भएको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण पर्सासहित देशभरका जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अवरुद्ध भएको जनाएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या देखिएपछि मर्मत कार्य जारी रहेको छ। हालसम्म सर्भर पूर्ण रूपमा सञ्चालनमा नआएकाले सेवा पुनः सुचारु हुन सकेको छैन।

उनले अर्को सूचना प्रकाशित नभएसम्म जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवा स्थगित रहने जानकारी दिए। साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट सर्भर मर्मत सम्पन्न भएको जानकारी प्राप्त हुनासाथ सेवा पुनः सञ्चालन गरिने पनि उनले बताए।


सम्बन्धित समाचार