२६ वैशाख,वीरगञ्ज । बाराको निजगढ–९ बुद्ध चोकस्थित गुरुङ होटल मा एक युवती मृत फेला परेकी छन्। निजगढ–१२ की २५ वर्षीया सीता थिङ्ग शुक्रबार राति होटलको कोठाभित्र मृत अवस्थामा भेटिएकी हुन्।
घटनामा संलग्नताको आशंकामा प्रहरीले निजगढ–९ की १८ वर्षीया अनु सुनार, जीतपुरसिमरा–१६ का ३५ वर्षीय महेश ओझा तथा ३६ वर्षीय सुनिल बम्जन लाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सीता आफ्ना तीन साथी अनु, महेश र सुनिलसँग शुक्रबार साँझ होटलमा पुगेकी थिइन्। राति करिब ११ बजे उनी अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल निजगढस्थित सामुदायिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित का अनुसार मृतकको घाँटीमा दाग देखिएकाले घटना शंकास्पद रहेको छ।
प्रहरीका अनुसार सीसीटिभी फुटेजमा उनीहरू राति साढे ७ बजे होटल प्रवेश गरेको देखिएको छ। होटलमा मदिरा सेवन तथा खाना खाएपछि महेश र सीता एउटा कोठामा तथा अनु र सुनिल अर्को कोठामा बसेका थिए।
अनुसन्धानका क्रममा राति ११ बजेपछि महेशले सीताले बाथरुममा झुण्डिने प्रयास गरेको भन्दै एम्बुलेन्स लिन जाने बहाना बनाएर होटलबाट मोटरसाइकलमा फरार भएको खुलेको छ। सुनिल पनि घटनापछि फरार भएका थिए।
घटनास्थलमा रहेकी अनुले होटल सञ्चालकलाई जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। ईलाका प्रहरी कार्यालय निजगढ का प्रहरी निरीक्षक जिवन लामिछाने को नेतृत्वमा पुगेको टोलीले अनुसन्धान सुरु गरेको थियो।
त्यसपछि प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्दै टांगियाबस्ती क्षेत्रमा सुनिललाई पक्राउ गरेको थियो भने महेशलाई शनिबार बिहान निजगढ–७ माझी टोलस्थित आफन्तको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ। मृतक सीताको शव शल्य परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।

















