Logo

२६ वैशाख,काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ले मुलुकको कुल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ऊर्जा उत्पादक संस्थाबाट उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण गरिएको मन्त्रालयले उल्लेख गरेको छ। परीक्षण चरणमा रहेका आयोजना तथा वैकल्पिक ऊर्जाबाट उत्पादित विद्युत्लाई भने यसमा समावेश गरिएको छैन।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म देशको कुल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ। हाल तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन अवस्थामा छन् भने थप तीन हजार मेगावाट क्षमताका आयोजना निर्माणको तयारीमा रहेका छन्।

हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। साथै १४ हजार ३२३ एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएका छन्।

त्यस्तै ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन तथा तीन हजार ३०८ एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएका छन्।

नेपाल विद्युत् प्राधिकरण का अनुसार सरकारको सक्रियता र प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानका कारण देशभर विद्युत् चुहावट घटेर १२ दशमलव ५ प्रतिशतमा सीमित भएको छ। प्राविधिक चुहावटलाई अझ घटाउन सबस्टेसन क्षमता विस्तार, प्रसारण लाइन स्तरोन्नति तथा अन्य प्राविधिक उपाय अपनाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ भने राष्ट्रिय विद्युत् प्रणाली तथा वैकल्पिक ऊर्जा स्रोतमार्फत ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच विस्तार भएको छ।

हालसम्म नेपालले दुई हजार ९१८ गिगावाट घण्टा विद्युत् निर्यात गरेको छ भने करिब ५९० गिगावाट घण्टा विद्युत् आयात गरेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सौर्य ऊर्जातर्फ हाल देशको उत्पादन क्षमता ६२ दशमलव ७ मेगावाट पुगेको छ भने लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५ दशमलव ३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

सिँचाइतर्फ हालसम्म १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये पाँच लाख ३२ हजार ९० हेक्टर क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध रहेको उल्लेख गरिएको छ।


सम्बन्धित समाचार