२९ बैशाख, बैरेनी (धादिङ) । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन् । सडकमा रोकिराखेको ट्रकलाई काठमाडौँबाट पश्चिमतर्फ जाँदै गरेका दुईवटा बसले शृंखलाबद्ध रूपमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११:३० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ०३-००१-००६ ख २०५६ नम्बरको ट्रक सडकमा रोकिएको अवस्थामा थियो । सोही दिशाबाट बागलुङतर्फ जाँदै गरेको बा ०१-००६ ख ७४९९ नम्बरको बसले ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । लगत्तै काठमाडौँबाट वीरगन्जतर्फ जाँदै गरेको बा ०१-००६ ख ६७१६ नम्बरको अर्को बसले समेत अगाडिको बसलाई पछाडिबाट ठक्कर दिएपछि दुर्घटनाले उग्र रूप लिएको थियो। ती सवारी साधनमा कुल ६८ जना यात्रु सवार थिए ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गजुरी, प्रहरी चौकी बैरेनी र स्थानीयवासीको सक्रियतामा घाइतेहरूको उद्धार गरिएको थियो। घाइते ३७ जनालाई तत्काल स्थानीय बैरेनी अस्पताल र स्मारिका मेडिकल हल पुर्याइएको थियो । सामान्य उपचारपछि ३ जना डिस्चार्ज भएका छन् भने गम्भीर चोट लागेका ३४ जनालाई थप उपचारका लागि राति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । काठमाडौँ ल्याइएकामध्ये २८ जनाको राष्ट्रिय ट्रमा सेन्टर र टिचिङ अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ भने ६ जनालाई अन्य विभिन्न अस्पतालमा रिफर गरिएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारी साधनका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्वत कुश्माका ३२ वर्षीय शिव थापा, ललितपुरका ४५ वर्षीय पुरुषोत्तम तिमिल्सिना शर्मा र रौतहट गुजराका २८ वर्षीय ट्रक चालक प्रमोद चौधरी रहेका छन् । तीव्र गति वा असावधानीका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालय गजुरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



















