३० बैशाख, माडी (चितवन) । माडी नगरपालिकाको शैक्षिक क्षेत्रमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नयाँ आशा र उत्साह थपेको छ । माडी नगरपालिका–१ बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालय का विद्यार्थी प्रसिस ढकालले ३.९५ जीपीए प्राप्त गर्दै माडीभरिका माध्यमिक विद्यालयका विद्यार्थीहरूमध्ये प्रथम स्थान हासिल गरेका छन् ।
२०८२ सालको एसईई परीक्षामा माडी क्षेत्रमा रहेका माध्यमिक विद्यालयहरूबाट जम्मा ५२० जना विद्यार्थी सहभागी भएका थिए । ती विद्यार्थीहरूमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल प्रसिस अहिले माडीको शैक्षिक क्षेत्रमा प्रेरणाका पात्र बनेका छन् ।
नतिजा सार्वजनिक भएपछि प्रसिससँग कुराकानी गर्न हामी माडी नगरपालिका-१ को अम्बाबासस्थित उनकै घर पुगेका थियौँ । सामान्य ग्रामीण परिवेश, परिवारको स्नेह, अनुशासित दिनचर्या र निरन्तर मेहनतबीच हुर्किएका प्रसिसको सफलता केवल एउटा नतिजा मात्र नभई संघर्ष, लगनशीलता र पारिवारिक संस्कारको प्रतिफलजस्तै देखिन्थ्यो ।

घरमा पुग्दा ८३ वर्षीया हजुरआमा धिमादेवी ढकाल नातिको सफलतामा खुसी व्यक्त गर्दै छेउमै बसेकी थिईन् । हामी प्रसिससँग कुराकानी गरिरहेका बेला उनले मुस्कुराउँदै भने, “कति पढेको स्वास्थ्य बिग्रेला अब त खाना खानुपर्छ,सुत्नु पर्दछ भनेर म भन्थेँ । तर ऊ त झन् नतिजाआए संगै‘हजुरआमा, भनेजस्तो आएन’ भनेर चिन्ता गरि रहेको छ ।”
हजुरआमाको त्यो भावुक अभिव्यक्तिले घरभित्रको वातावरण कति सरल र ममतामय थियो भन्ने सहजै महसुस हुन्थ्यो ।
प्रसिसका अनुसार उनको अध्ययन जीवन निकै नियमित थियो । विद्यालय समयपछि घर फर्किएर घरायसी काममा सघाउने, परिवारलाई सहयोग गर्ने र फुर्सद हुनेबित्तिकै किताब-काँपी लिएर पढ्न बस्ने उनको दैनिक बानी रहेछ । राति ११ बजेसम्म नियमित अध्ययन गर्ने र बिहान ५ बजे उठ्ने बानी उहाँमा सानैदेखि विकसित भएको थियो । कहिलेकाहीँ राति २ बजेसम्म अध्ययन गरेर फेरि बिहान सबेरै उठ्ने गरेको उनी बताउँछन् ।
प्रसिसकी आमा गोमा पंगिनी ढकाल स्वयं सोमेश्वर माध्यमिक विद्यालय मा अस्थायी राहत कोटाअन्तर्गत इसीडी शिक्षिकाको रूपमा कार्यरत हुनुहुन्छ । बुवा विष्णुप्रसाद ढकाल माडी नगरपालिकामा क्रसर अपरेटरको रूपमा कार्यरत छन् । परिवारमा एक भाइ पनि छन्, जो हाल कक्षा ८ मा अध्ययनरत छन् ।
आमा गोमा पंगिनी ढकाल छोराको सफलताबारे बोल्दै भन्छिन्, “मेरो छोरा पहिलेदेखि नै लगनशील थियो । पढाइमा असाध्यै अब्बल थियो । अरूलाई कसरी जित्ने भन्नेभन्दा पनि आफूले कसरी राम्रो गर्न सकिन्छ भन्ने सोच उसमा थियो । कहिल्यै पढ भनेर कर गर्नुपरेन । आफैँ जिम्मेवारी बोध गरेर मेहनत गर्थ्यो ।”
उनका अनुसार प्रसिस विद्यालयमा हुने हाजिरजवाफ प्रतियोगितादेखि विभिन्न अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउने विद्यार्थी थिए । प्रतियोगितामा पुरस्कार लिएर घर फर्किँदा परिवार गर्वले भरिने गरेको उनले स्मरण गरे ।
बुवाआमा दुवै जागिरे भएकाले घरमा हजुरआमाको साथ दिने जिम्मेवारी पनि प्रसिसले नै सम्हाल्ने गर्दारहेछन् । खेतबारीका काममा जाने काम गर्ने फुर्सद उनिमा थिएन, प्रसिसको स्वभावबारे हजुरआमा धिमादेवी भन्छिन् , “उसलाई फुर्सद नै हुँदैन थियो । न कहिले रिसाउँथ्यो, न कसैलाई जवाफ फर्काउँथ्यो । सानैदेखि उसको बानी असाध्यै राम्रो थियो ।”
प्रसिस भने फुर्सदको समयमा बाहिरी खेलकुदभन्दा सामाजिक सञ्जालमा अपडेट रहने गरेको बताउँछन् । तर सामाजिक सञ्जालको प्रयोगले पढाइलाई असर पार्न नदिएको उनको भनाइ छ ।
आफ्नो सफलताको रहस्यबारे प्रसिसले स्पष्ट शब्दमा भने, “गुरुहरूको सिकाइ, आमाबुवाको माया, छरछिमेकीको साथ, आफ्नो मेहनत र बुवा–आमाको पसिनाले गर्दा आज यो स्थितिमा पुगेको हुँ ।”
यति उत्कृष्ट नतिजा ल्याउँदा पनि उनी पूर्ण सन्तुष्ट भने देखिदैनन् । नेपाली विषयमा अपेक्षाअनुसार अंक नआउँदा ४ जीपीए ल्याउन नसकेको उनको गुनासो थियो । “सबै राम्रो भइरहेको थियो । नेपालीमा केही बिग्रियो । मैले सोचेजस्तो अझ आएन,” उनले भने ।
एसईईमा अनुतीर्ण भएका विद्यार्थीहरूलाई सन्देश दिँदै प्रसिसले निकै परिपक्व अभिव्यक्ति दिए । उनी भन्छन्, “कहिलेकाहीँ मेहनत गर्दैमा तुरुन्त सफलता नआउला । असफल भइयो भनेर आत्तिनु हुँदैन । आफू लगनशील र अध्ययनशील हुनुपर्छ । पक्कै पनि एक दिन सफलता मिल्छ ।” उनले आगामी दिनमा सबै विद्यार्थीले सफलताको नयाँ बाटो भेटून् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
आगामी अध्ययनबारे भने प्रसिस अझै सोचकै चरणमा छन् । विज्ञान संकाय पढ्ने कि अन्य विषय रोज्ने भन्ने विषयमा परिवार र गुरुहरूसँग छलफल भइरहेको उनी बताउँछन् । “भर्खर त रिजल्ट आएको छ । केही दिन फ्रेस भएपछि सोच्नुपर्ला,” उनले मुस्कुराउँदै भने ।
आफ्नै जन्मभूमिमा हुर्किएर, स्थानीय विद्यालयमै अध्ययन गर्दै माडीभरिका विद्यार्थीहरूमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा उनी अत्यन्त खुसी देखिन्थे । तर त्यो खुसी केवल व्यक्तिगत उपलब्धिमा सीमित थिएन । उनका शब्दमा, “यो खुसी मलाई अझ अगाडि बढ्ने प्रेरणा दिने खुसी हो । अब इमान्दार भएर अध्ययनलाई नै अगाडि बढाउँछु ।”
प्रसिस ढकालको यो सफलता केवल एउटा विद्यार्थीको उपलब्धि मात्र होइन, मेहनत, अनुशासन, पारिवारिक संस्कार र सामुदायिक सहयोगले गाउँकै परिवेशबाट पनि उत्कृष्ट सम्भावना जन्मिन सक्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ ।



















