Logo

८ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधरले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोह गर्ने चेतावनी दिएको छ।  समानुपातिक पद्धतिको सूचीमा असन्तुष्टि जनाएको यो समूहका नेताहरुले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हार्ने चेतावनी गठबन्धनका नेताहरुलाई दिएका छन् ।

शनिबार काठमाडौंमा भएको ‘खबरदारी सभा’मा शेखर समूहका नेता गुरुराज घिमिरेले गुटका नाममा आफ्नो वरिपरिका केही मानिसलाई अवसर दिएर पार्टी सिंगाे नरहने चेतावनी दिए । पार्टीमा न्यायोचित रुपमा टिकट वितरण भए ४०/६० को गणित आवश्यक पर्दैन उनले भने  ‘न्यायोचित भएन भने शेखर काेइरालाले नेतृत्व गरेकाे समूहलाइ ४० प्रतिशत भन्दा १ प्रतिशत पनि मञ्जुर छैन’,  अब हामी टुलुटुलु हेरेर बस्दैनौं ।’
घिमिरेले पार्टी सभापति सानेपा जान सक्नु हुन्न तर बालुवाटारमा गठवन्धनका नेतालाइ दाया र बाँया राखेर भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने बताए । ‘मागेजति सिट पाइँदैन, पाएको ठाउँमा पनि जिनत्दा पनि जितिँदैन’ नेताहरुलाई चेतावनी दिँदै उनले भने, ‘हामी केही व्यक्तिले आह्वान गरौं त के हुने रहेछ हेरौं ।’

घिमिरेले पार्टीभित्र न्यायोचित अवसरका लागि लड्दा खुट्टा नकमाउन आफ्नो समूहबाट चुनिएका पदाधिकारीहरुलाई आग्रह गरे । पार्टीका साथीहरु हामीसँग छन्, खुट्टा नकमाउन होला,’ उनले भने, पार्टीभित्र भएको अन्यायबारे बोल्नुभएन भने तपाईंको पनि मूल्यांकन हुन्छ ।’

पर्साका पूर्वजिल्ला सभापति अजय द्विवेदीले विचारको कांग्रेस कि ब्रिफकेसको भनी प्रश्न गरेका थिए ।  द्विवेदीले कार्यकर्तावादी होइन, कारिन्दावादी कांग्रेस भएको भन्दै भने, ‘जहाँ विभेद हुन्छ, त्यहाँ विद्रोह हुन्छ, । बहुमतको नाममा विभेद गर्न पाइँदैन ।’

नुवाकोटका पूर्वसभापति जगदिश्वर नगरसिंह केसीले आफूहरुले दिएको नाम समानुपातिकको बन्द सूचीमा समावेश नभएको भन्दै १६ असोजभित्र नसच्याए प्रतिवादमा उत्रिने चेतावनी दिए । ‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ’, उनले भने, ‘सूची १६ गतेसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस् ।’

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापतिले पार्टीभन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै आपत्ति जनाए । ‘भातृसंस्था लथालिङ्ग पारेर चुनावमा जान किन कांग्रेस खोजिरहेको छ ? भातृ संस्थालाई पूर्णता दिने पार्टीको निर्णय किन कार्यान्वयन भएन ?’ उनले प्रश्न गरे ।

पार्टी सभापति देउवा स्वयंले विगतमा ४० प्रतिशतको भाग खोजेको भन्दै उनले उम्मेदवार छनोटमा शेखर पक्षलाई ४० प्रतिशत दिनैपर्ने बताए । ‘महाधिवेशनमा हामीले ४० प्रतिशत मत ल्याएको औचित्य के हो ? हामीलाई ४० प्रतिशत चाहिन्छ चाहिन्छ’ उनले भने ।

तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले संस्थापन पक्षले समानुपातिकतर्फको उम्मेदवार छनोटमा एकलौटी गरेको आरोप लगाए । केन्द्रीय सदस्यमा बहुमत भएर चुनाव नजित्ने भन्दै उनले भने, ‘बहुमत नेपाली जनताको चाहिन्छ, बहुमत कता छन् हेर्न जरुरी छ ।’

डोटीका नेता भरत खड्काले जनताको बीचमा जानुपर्ने बेला न्यायका लागि खबरदारी सभा गर्नुपर्ने बताए । अमुक पार्टी र नेताको नभई पार्टीको चिन्ता गर्न र एकता कायम गर्न आग्रह गर्दा पनि सभापति देउवाले सुनुवाई नगरेको उनले बताए । ‘अब तीन वटा मात्र विकल्प छ, जति शेरबहादुर दाइले दिनुहुन्छ, त्यसमा चित्त बुझाउने । त्यसो नहुँदा कुनै पद चाहिँदैन, तपाईं नै बाँड्नुस् भन्नुपर्छ,’ उनले भने, ‘होइन भने समूहगत रुपमा बाहिर आएर देशभर उम्मेदवारी दिने हैसियत राख्नुपर्छ ।’

कांग्रेसका लागि आफ्नो खुट्टामा उभिएर जनतामा जाने अवसर भएपनि स्थानयि चुनावमा त्यसलाई गुमाएको उनले बताए । अब फेरि तालमेल गर्दा २/४ सिट जितेपनि हजारौं कार्यकर्ता गुमाउने भन्दै डोटीका नेता खड्काले भनेका छन्, ‘यो अप्राकृतिक गठबन्धन हो, प्रचण्ड र माधव नेपालले बाँड्ने टिकट हामीलाई स्वीकार्य छैन ।’

खबरदारी सभामा निवर्तमान सांसद तेजुलाल चौधरीले मधेशमा कांग्रेसलाई अन्याय नहुने गरी गठबन्धन गर्नुपर्ने बताए । ‘मधेशको ३२ सिटमा कांग्रेसले २० सिट कम्तीमा लिनुपर्छ । छोड्दै जाने हो भने कांग्रेस मधेशमा सकिँदै जान्छ’ उनले भने ।


सम्बन्धित समाचार