Logo

२५ असाेज वीरगञ्ज ।
रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नम्वर (ख) का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो ।

कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो ।

गठबन्धनको भागवण्डा अनुसार रुकुम पश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) मा कांग्रेस र माओवादी भनेर नै उल्लेख गरेको थियो । सोहीअनुसार माओवादीका साथै कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा चौधरी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले जनाए ।

टीकापुर घटना सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको उनको भनाइ छ ।


सम्बन्धित समाचार