Logo

३ कार्तिक, वीरगञ्ज ।
गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिदैछ । समापन समारोहमा प्रधानमन्त्री शेरवहादुर देउवा सहभागी हुनेभएका छन ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले १ सय ५० स्वर्ण पदकसहित ३ सय १४ पदक जितेको छ । उसले १ सय ५० स्वर्ण, ९४ रजत र ७० कास्यसहित प्रथम स्थान हासिल गरेको छ ।

दोस्रोमा रहेको नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यगरी १ सय ५८ पदक तथा तेस्रोमा रहेको एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्य गरी १ सय ७६ पदक जितेको छ ।

यस्तै गण्डकी प्रदेशले २९ स्वर्णसहित १ सय ६ पदक, वाग्मतीले २२ स्वर्णसहित १ सय २३, एनआरएनएले १० स्वर्णसहित २४, प्रदेश एकले ९ स्वर्णसहित ७५, सुदूरपश्चिमले ८ स्वर्णसहित ४७, मधेस प्रदेशले ५ स्वर्णसहित ३४, लुम्बिनीले ४ स्वर्णसहित ५९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १६ वटा पदक जितेका राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

कूल ३६ वटा खेल र दुई प्रदर्शनी सहित ३८ खेल समावेश भएको यस प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी भएका छन । कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिएको खेलकुद परिषदले जनाइएको छ। प्रतियोगितामा करिब एक हजार ३०० पदकका लागि प्रतिस्पर्धा गरिएको थियो ।

३६ खेल मध्येका २६ वटा खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा प्रतियोगिता संचालन गरिएको थियो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो।

दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने भएको छ ।दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । बिहिवार हुने समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ ।

गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन गरेका थिए ।


सम्बन्धित समाचार