Logo

५ कार्तिक, ठोरी पर्सा ।
पर्साको ठोरी गाउँ पालिका वडा नंं. ४ मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालय घ्याङडाँडामा अध्ययनरत विद्यार्थीहरुले संकलन गरेको चामल, दाल लगायतका खाद्यान्न्न सामाग्री ठोरी –१ भगवान नगरमा रहेको वृद्धवृद्धा तथा असहाय कल्याण समाजलाई प्रदान गरिएको छ ।

विद्यालयको बाल क्लबको अगुवाईमा विद्यार्थीबाट संकलन भएको चामल तथा शिक्षकहरुबाट संकलन भएको रकमले असहाय कल्याण समाजका सहयोगापेक्षी असहायहरुलाई प्रदान गरिएको हो ।

विद्यालयका शिक्षक तथा बाल क्लबका विद्यार्थीहरुसहितको टोली भगवान नगर पुगेर आश्रमका संरक्षक आश बहादुर गुरुङ्लाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा १३ बोरा चामल, आलु १५ केजी, प्याज १५ केजी, दाल १५ केजी, फ्रुटी १ कार्टुन, तेल १ कार्टून, सिरकडस्ना ५ थान, साबुन २ कार्टून, बिस्कुट १ कार्टून, नुन, लसुन, प्लास्टिक म्याट, महिलाहरुको लागि आवश्यक पर्ने सेनिटरी प्याड १ बोरा लगायतको खाद्यान्न तथा अन्य अत्यावश्यक सामाग्री वितरण गरिएको प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेलले जानकारी दिए ।

विद्यार्थीहरुले सानै उमेरदेखि देखाएको समाजसेवाको भावनालाई शिक्षकले साथ र सम्मान गर्दै अभियानकै रुपमा संस्थालाई सहयोग गरिएको प्रधानाध्यापक ढुङ्गेलले बताए । आश्रमका बारेमा वीरगंजमा रहेको सामुदायिक नारायणी एफएम र रेसखवर डटकममा समाचार प्रसारण भएपछि सहयोग जुटाउने अभियान चलेको छ । बिहिवार सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा ३ सय केजी चामल, ५० केजी आलु र २ काटूर्न चाउचाउ आश्रमका संरक्षक आश बहादुर गुरुङलाई हस्तान्तरण गरेको थियो ।


सम्बन्धित समाचार