Logo

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङमा सम्पन्न २० औँ महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि पुन महासचिवमा निर्वाचित भएका छन् । शनिवार सम्पन्न पार्टीको महाधिवेशनले सीलाई तेस्रो कार्यकालको लागि महासचिवको रूपमा निर्वाचित गरेको हो । महाधिवेशनले उनीपछिको वरियतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङलाई अवकाश दिएको छ ।

आइतबार नयाँ केन्द्रीय समितिको पूर्ण बैठकले २५ सदस्यीय नयाँ पोलिट्ब्युरो र स्थायी समितिको टुंगो लगाउनेछ। त्यसपछि सीले स्थायी समितिका सदस्यहरूसहित पत्रकार सम्मेलन गर्ने बताइएको छ ।

महाधिवेशनले चयन गरेको नयाँ केन्द्रीय समितिमा सात सदस्यीय स्थायी समितिमा रहेका चार जनाको नाम समावेश गरेको छैन । यसरी नाम समावेश नहुनेमा प्रधानमन्त्री ली खछ्याङ, नेशनल पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष ली चान्सु, चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ, र उपप्रधानमन्त्री हान चेङ रहेका छन् ।

महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा ६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । २ सय ५ सदस्यीय केन्द्रीय कमिटी ११ जना मात्रै महिला रहेका छन् ।
केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्ने छ ।

एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ । चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ ।

पाँच वर्षअघि भएको पार्टीको १९ औं महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो ।


सम्बन्धित समाचार