Logo

६ कात्तिक, चितवन । पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । दानवीरको रुपमा परिचित नेपाली कांग्रेसकी नेता श्रेष्ठको गएराति १ बजे उपचारको क्रममा भरतपुर स्थित चितवन मेडिकल कलेजमा निधन भएको हो ।

बिक्रम संम्वत १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मिएकी मैयादेवी, पिता वीरबहादुर श्रेष्ठ र आमा गणेशकुमारी श्रेष्ठकी दोस्रो सन्तान हुन् । लामो समय महिला संघको चितवन जिल्ला अध्यक्ष रहेकी उनी ०४८ सालमा गोरखा क्षेत्र नः २ बाट सांसद निर्वाचित भइन् । २०५६ सालमा राष्ट्रिय सभामा मनोनित भइन् । ०६३ को जनआन्दोलनपछि पुनस्थापित संसदमा पनि उनी सांसद थिइन् ।

श्रेष्ठको शवलाई आज बिहान ९.३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले नै स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि श्रेष्ठको शवलाई अन्त्येष्टिका लागि देवघाट लगिने उनका धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए ।

भरतपुरको क्षेत्रपुरस्थित घरमा विगत केही बर्ष देखि अरूको स्याहार सुसारमा दिन विताउदै आएकी श्रेष्ठको अचानक स्वास्थमा खरावी आएपछि अस्पताल भर्ना गरिएको थियो । विगत ११ बर्षदेखि पार्किन्सन्स् रोगबाट पीडित मैया देवीलाई सहयोगीहरुले सुताउने, उठाउने र खुवाउने गर्दै आएका थिए ।

दानवीरका रुपमा चिनिएकी मैयादेवी श्रेष्ठ मैयादेवी कन्या कलेज भरतपुरको संस्थापक संरक्षकसमेत हुन् । अविवाहित रहेकी श्रेष्ठले विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघसंस्थालाई आार्थिक तथा जग्गा दान गरेकी थिइन् ।

कांग्रेसको चितवन जिल्ला कार्यालय पनि मैयादेवीले नै दान गरेको जग्गामा छ । काठमाडौं रविभवनमा रहेको नेपाल तरूण दलको केन्द्रीय कार्यालय मैयादेवी श्रेष्ठले दिएकी हुन् चितवनमै प्रेस युनियनको भवन बनाउन १५ धुर जग्गा दान गरिन्, मानव सेवा आश्रम, भरतपुर शाखाको भवन निर्माणका लागि बेलचोकमा करोडौं मूल्यको जग्गा दान गरेको धर्मछोरा पौडलले बताए ।

मैयादेवीले महिलाहरुको उच्च शिक्षाका लागि भरतपुरमा मैयादेवी कन्या कलेज स्थापना गरिन्, जहाँ अहिले ११ कक्षादेखि स्नातकोत्तर तहसम्म करिब आठसय छात्रा अध्ययनरत छन् । ०५७ सालमा १६ कठ्ठा जमिनमा बनेको कलेजमा व्यवस्थापन, मानविकी र नर्सिङ पढाइ हुन्छ । मैयादेवीले नारायणगढ बजारको बालकुमारी कन्या स्कूललाई पनि १० कठ्ठा जग्गा दिएकी छन् ।

मैयादेवी श्रेष्ठको नाउँमा ओम शान्ति मैयादेवि ट्रष्ट र मैयादेवी ट्रष्ट गरि दुईवटा ट्रष्टका नाममा घरजग्गा र नगद राखेर अक्षय कोष स्थापना गरिएको पौडेलले बताए । नारायणघाट बजारको तीन तले घर ट्रष्टका नाममा पास गरिदिएकी छन् । ट्रष्टले शिक्षा, स्वास्थ्य, महिला लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।


सम्बन्धित समाचार