Logo

तश्वीर : सामाजिक संजालबाट लिइएको हो

१३ कात्तिक, चितवन। पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

दुर्घटनामा रम्भा गाउँपालिका वडा नं. १ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् । बसमा रम्भा १ हुँगीअन्तर्गत बिसौना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासीको बुलिङटार गाउँपालिका वडा नंं. २ को मथारमा आज बिहान ४ बजे दुर्घटना भएकाे थियाे ।

प्रहरीका अनुसार पाल्पा रम्भा १ च्याङलिङ, नौगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए। त्यसमध्ये एक बस दुर्घटनामा परेको हो। बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको थियो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।


सम्बन्धित समाचार