Logo

ठोरीको राईधारामा आएका भारतीय र नेपाली पर्यटकहरुको गाडी तस्विर : माधव तिमिल्सीना

१५ कार्तिक, ठोरी पर्सा । मधेस प्रदेशको मुख्य पर्यटकीय क्षेत्र ठोरीमा आन्तरिक र बाह्य पर्यटकको भिड लाग्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र भारतीय सीमावर्ती शहर भिखानासँग जोडिएको ठोरीको राइधारामा पिकनिक खान आउनेको संख्या दुईदिनमा बढेको छ ।

ठोरीको पिकनिक स्पटका रुपमा परिचित राईधारा क्षेत्रमा करीब रु ५० हजार सवारी पार्किङ शुल्क उठेको छ । दशै, तिहार र छठ पर्वको समापनसंगै बितेको ५ दिनमा मात्र राईधारा परिसरमा पिकनिक खान आउने आन्तरिक र भारतीय पर्यटकहरुको सवारी साधनबाट मात्र सो रकम संकलन गरिएको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए ।

ठोरी गाउँपालिका वडा नंं २ मा पर्ने ठुटेखोला किनारमा अवस्थित सो क्षेत्र वनशक्ती सामुदायिक वन अन्तरगत पर्ने भएपनि सो क्षेत्रको व्यवस्थापनको जिम्मा भने निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले लिएको छ ।

वनशक्ती सामुदायिक वन समिति राईधारा क्षेत्र संरक्षणमा निष्क्रिय भएकाले निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले नै संरक्षण र सरसफाइको काम गर्दै आइरहेको अध्यक्ष बस्नेतले बताए ।

राईधारा क्षेत्रमा पिकनिक खान आउने पर्यटकहरुबाट हल्का चार पाङ्ग्रे सवारी पार्किङ बापत नेपालीका लागि रु २ सय र भारतीयका लागि भारतीय रुपैयाँ २ सय नै शुल्क तोकिएको छ भने ट्याक्टर र बस पार्किङ गरेबापत नेपालीले रु ५ सय र भारतीयले भारतीय रुपैयाँ ५ सय नै तिर्नुपर्छ । त्यसबाहेक अन्य कुनै अतिरिक्त शुल्क भने नलिने गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

पर्यटकहरुको सवारीबाट संकलन गरिएको रकमबाट सरसफाइका लागि हेरालुको व्यवस्था गरिएको तथा सोही रकमबाट नै राईधारा क्षेत्रमा संरक्षणको काम गर्दै आइरहेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ । पर्साकै पर्यटकीय क्षेत्र भएर पनि व्यवस्थापन हुन नसकेको राईधारा घुम्न आउने पर्यटकको गुनासो छ ।
यस्तै यस वर्ष पनि दीपावली र छठ पनि सकिएसँगै ठोरीमा भारतीय तथा नेपालका आन्तरिक पर्यटकहरुको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण अघिल्ला वर्षहरुमा सुस्ताएको पर्यटकीय चहलपहल यस वर्ष फेरि बढेको हो ।

छठको समापन संगै सोमबार मात्रै सिमावर्ती भारतीय शहर जमुनिया, नरकटियागंज, रामनगर, पटना लगायत बिरगंज, कलैया, पोखरीया, हरैया लागाएतका स्थानका व्यक्तिहरु सपरिवार आएर पिकनिक मनाएका थिए।

सो क्षेत्रमा पिकनिक खान आउने नेपालीहरुको भिड रहेको छ । हिजोको तुलनामा आज भारतीय पर्यटकहरुको संख्यामा कमी आएको भएपनि नेपालीहरुको भिड रहेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बस्नेतले जानकारी दिए । हरेक वर्ष तिहार र छठ पर्व सकिए लगत्तै ठोरी घुम्न जाने र पिकनिक खान जाने पर्यटकहरुको घुइचो नै लाग्ने गरेको छ । मधेस प्रदेश सरकारले ठोरीलाई प्रदेशको मुख्य पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको छ ।


सम्बन्धित समाचार