Logo

३० कार्तिक, वीरगञ्ज । २०७४ मा चुनाव जितेर गएपछि फर्केर नआएको र मनोनयनको अघिल्लो दिन एमालेमा प्रवेश गरेर फेरि चुनावी मैदानमा देखिएका एकवाल मियाँ प्रति उनका क्षेत्रका मतदाता रुष्ट छन् । अघिल्लो निर्वाचनमा विकास निर्माणका काम लगायत जनताकाे विचमा जाहेर गरेका प्रतिवद्धता अधिकांश पुरा गर्न नसकेका मियाँले मतदाताको प्रश्नमा चित्तबुझ्दो जवाफ दिन सकेका छनन् ।

बारा निर्वाचन क्षेत्र नं. ४ का मतदाता यसपटक नयाँ उमेदवारलाई भोट दिने पक्षमा रहेको देखिन्छ । जसको केन्द्रमा पहुँच छ, क्षेत्रको विकासका लागि केही गर्न सक्ने उमेदवारलाई जिताएर पठाउने सोचमा छन् बारा क्षेत्र नं. ४ का मतदाता । अघिल्लो निर्वाचमा विजयी भएर गएका एकवाल मियाँले केही जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो आइरहेको छ जसको फाइदा सत्ता गठबन्धनका साझा उमेदवार एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ प्रति स्थानीय जनताको मत बढी देखिन्छ । बारा ४ का अधिकांश मतदाताको भनाई थियो ५ बर्षमा एकवालले केही गर्न सकेनन् यसपटक कलम छापका किसानलाई मौका दिने कि भन्ने सोचमा छौ ।

यस्तो छ बारा ४ का मतदाताको भनाई ?

फेटा गाँउपालिका वडा नं १ साविक गाविसको ९ वटा वडा गाभेर बनेको एउटै वडा हो । गाँउपालिकाको ७ वटा वडा मध्ये वडा नं १ सबैभन्दा ठुलो र धेरै जनसंख्या भएको वडा हो । ६ वटा ठुला गाँउहरु यसै वडाभित्र पर्दछ । गाँउमा ४ वटा आधारभुत तहका विद्यालय छ तर, माध्यमिक तहको पढाई नहुदाँ यहाँका विद्यार्थीहरु धेरैले बिचमै पढाई छोड्छन् भने केही अन्यत्र पढ्न जान्छन् ।

फेटा गाँउपालिका वडा नं १ त्रिवेणी टोलका बिवेक कुशहवा गाँउमा माध्यमिक तहको विद्यालय नहुदाँ धेरै समस्या भएको बताउछन् । ५ वर्षअघि जितेर गएका संघीय सांसद एकवाल मियाँले शिक्षा र स्वास्थ्यमा केही काम नगरेको उनको गुनासो छ ।

‘गाँउमा एउटै माध्यमिक विद्यालय छैन्, वर्षामा सडक हिलाम्मे हुन्छ, किसानलाई प्रविधि, मल र सिंचाई नहुदाँ हेक्टरका हेक्टर जमिन बाँझो छ’ कुशहवाले भने ‘पहिला जितेर गएका एकवाल मियाँले विकास भन्दा पनि आफ्नो कार्यकर्ता रिझाउन मात्रै व्यस्त रहे, उनको संसदीय कोषबाट हाम्रो गाँउमा केही काम भएको छैन’ ।

शारीरिक रुपमा अपाङ्ग सोही गाँउका मुकेशकुमार दास पनि २०७४ मा निर्वाचन जितेर गएका मियाँ गाँउमा फर्केर नआएको गुनासो गर्दछन् । अपाङ्ग दास गाँउमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नहुदाँ बिरामी छोरालाई निजी अस्पतालमा लगेर उपचार गर्न जान नसकेको गुनासो गर्छन् । ‘छोराको उपचार गर्न नसकेर घरमै राखेको छु डाक्टरले स्वास्थ्य बिमा गरेर आउनुस् भन्छ गाँउमा स्वाथ्य बिमा कार्यक्रम सञ्चालनमा छैन, हामीले मियाँलाई जिताएर पठायौ तर हाम्रो गुनासो सुन्न कहिल्यै फर्केर आएनन्’ दासले भने ।

सो वडामा २५० भन्दा बढी दलित घरहरु छन् । दलित परिवारका महिलाहरु गाँउमा खानेपानी र माध्यमिक तहको विद्यालय नहुदाँ समस्या भएको गुनासो गर्दछन् । सोही वडाकी लालपरी देवि १५÷२० घरधुरीका लागि गाँउमा एउटा मात्रै धारा भएको र त्यो पनि बेला बेलामा पानी सुक्ने गरेको बताउछिन् । ‘चुनावमा दलितहरुको लागि खानेपानीको धारा, बिजुली, स्कुल बनाईदिन्छु भनेर २०७४ मा एकवाल मियाँले चुनाव जितेर गए तर, ५ वर्षमा कहिल्यै फर्केर आएनन्’ लालपरी देविले भनिन् । बारा निर्वाचन क्षेत्र नं ४ जितपुरसीमरा उपमहानगरको १६ वटा वडा, कलैया उपमहानगर वडा नं १७, विश्रामपुर, परवानीपुर र फेटा गाँउपालिका पर्दछ ।

यो निर्वाचन क्षेत्रले जिल्लाको उत्तरी भेगमा चुरेदेखि मधेशको फाँट हुदै भारतिय सीमासम्म छोएको छ । कलैया उपमहानगर वडा नं १७ का महेश राम पनि गाँउमा दलितका छोराछोरीहरु पढन माध्यमिक तहको विद्यालय र खानेपानीको समस्या भएको बताउछन् । ‘स्कुल छ त तर प्राथमिक तहको मात्रै माध्यमिक तहको पढ्न यहाँका विद्यार्थी अन्यत्र जानुपर्छ, हाम्रो गाँउमा खानेपानीको पनि धेरै छ’ रामले भने । २०७४ को निर्वाचन बारा–४ मा तत्कालिन राजपाबाट एकवाल मियाँ निर्वाचित भएका थिए । तर, मियाँ निर्वाचित भएपछि ५ वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा कुनै काम नगरेको उनको गुनासो छ ।

५ वर्ष गाँउमा फर्केर नआएको र पुनं टिकटका लागि रातारात एमाले प्रवेश गरेर उम्मेदवार बनेर आएको भन्दै बारा ४ का मतदाताहरु यसपटक मियाँलाई मतदान नगर्ने पक्षमा देखिन्छन् । बारा निर्वाचन क्षेत्र नं ४ जितपुरसीमरा उपमहानगर वडा नं १९ की रिती खातुन छोरोछोरीको नागरिकता नहुदाँ धेरै समस्या झेल्नुपरेको र नागरिकता विद्येयकमा एमालेको कारण अवरोध भएकाले यसपटक एमाले उम्म्ेदवार मियाँलाई मतदान नगर्ने बताउछिन् ।

‘आज एमालेको कारण मेरो छोराछोरीहरुले नागरिकता पाएनन् उमेर पुगेका छोराछोरीको नागरिकता बन्न नसक्दा धेरै समस्या भएको छ’ खातुनले भनिन् ‘६ मध्ये ३ वटा छोराहरुको नागरिकता बनाउन उमेर पुगिसक्यो, विदेश जान छटपटाईरहेको छ तर प्रशासनले नागरिकता बनाउन गयोे सधै पछि आउनुस् भन्छ ।’

बारा निर्वाचन क्षेत्र नं ४ मा बारा–पर्सा औधोगिक करिडोर, पर्सा राष्ट्रिय निकुञ्ज, विशेष आर्थिक क्षेत्र सेज प्राधिकरण, सिमरा विमानस्थल, प्राकृतिक श्रोत साधन, हजारौ हेक्टर कृृषियोग्य भुमि पर्दछ । सो क्षेत्रमा करिडोरका मजदुर,उद्योग मालिक, यातायात व्यवसायी, कृषकका आ–आफ्नै समस्या रहेका छन् ।

जितपुरसीमरा वडा नं २० का कृषक दोष मोहम्मद २०७४ मा निर्वाचन जितेर गएका सांसदले किसानको पिरमर्का नबुझेको गुनासो गर्दछन् । ‘चर्को मुल्यमा मल किन्नुपरेको छ, सिंचाईको व्यवस्था छैन्, जितेर गएका नेताहरु गाँउमा फर्केर आएन अव फेरी के को लागि उनलाई मतदान गर्ने’ मोहम्मदले भने । बारा निर्वाचन क्षेत्र नं ४ मा करिव १ लाख ३ हजार मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा विजयी भएका उमेदवारलाई यसपटक पुन मत दिने पक्षमा मतदाता देखिदैनन् । उनीहरुले आफ्नो ठाउँको लागि केही नगरेको गुनासो मतदाताहरुको छ । एकबाल मियाँ निर्वाचित भएर गएपछि फर्केर नआएको गुनासो अधिकांश मतदाताको छ । हामीले भोट दिएर पठाएपछि उनी आएनन् फेटा गाउँका मतदाता उनीसँग असन्तुष्ट देखिन्छन् ।


सम्बन्धित समाचार