Logo

६ मंसिर, वीरगञ्ज । प्रतिनिधि सभासदस्य तर्फ पर्सा निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा भएको छ । मतगणना शुरु भएदेखि निरन्तर अग्रता लिदै आएका जसपाका उमेदवार प्रदीप यादवले उनको प्रभावित वडाहरुमा अपेक्षित मत पाउन नसक्दा स्वतन्त्र उमेदवार अजय द्विवेदीसँग प्रतिस्पर्धा रोचक बन्न पुगको हो ।

एमाले जसपा गठबन्धनका साझा उमेदवार यादवले १० हजार ८ सय ३० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । उनका प्रतिद्धन्दी स्वतन्त्र उमेदवार अजय द्विवेदीले ९ हजार ७ सय २० मतका साथ उनलाई पछ्याइरहेका छन ।

सोमबार दिउँसो वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरु भएदेखि अग्रता लिरहेका यादवले मङ्गलबार दोस्रो दिन रातिसम्म पनि आफ्नो अग्रता कायम राखेका हुन् ।

करिव २ हजार भन्दा बढीले द्विवेदीलाई पछाडी पार्दै आएका यादवले वीरगञ्ज महानगरपालिकाको वडा नं. ११ को मतगणना सकिएपछि कडा प्रतिस्पर्धा हुने हो की भन्ने त्रास थपिएको हो । उक्त वडाको मतगणना सकिएपछि द्विवेदीले यादवसँगको मतान्तर घटाएर एक हजार ११० बनाएका छन् ।

मङ्गलबार राति साढे ९ बजे तिर आएको मतगणनाको ताजा परिणाम अनुसार यादव आफ्ना निकटतम प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीभन्दा ११ सय १०  मतको अन्तरले अगाडि रहेका छन् ।

यादवले अग्रता कायम राखेपनि प्रतिष्पर्धी द्विवेदीसँगको मतान्तर भने घट्दै गएको छ । दिउँसो २ हजार भन्दा बढी र साँझ १८ सय भन्दा बढी मतको अन्तरले द्विवेदीसँग अगाडि रहेका यादवको मतान्तर राति  ९ बजे सम्म १२ सय ७३ पुगेको थियाे । राति ११ बजे वडा नं ५ काे परिणाम आएपछि एक सय ६३ मत घटाउन द्विवेदी सफल भए । अहिले यादव र द्विवेदी विचको अन्तर १ हजर ११० मा झरेको छ ।

पछिल्लो पटक पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २, ८, ११, १२, १६, ३१ र ३२ मा भएको मतगणनाको परिणाम सार्वजनिक भइसकेको छ ।

अहिले वीरगञ्ज महानगरपालिका वडा नं. ४  को मतगणना भइरहेको छ । उक्त वडामा पनि अजय द्विवेदीले केही मतान्तर घटाउने अनुमान उनका समर्थकहरुले गरेका छन् ।

अव गणना हुने वडाहरुमा केही अजय द्विवेदी र केही प्रदीप यादवले अग्रता लिने वडा भएपनि पछिल्लो परिणामलाई हेर्ने हो भने यादवले अपेक्षा गरे जस्तो परिणाम आउने अवस्था देखिदैन ।

प्रदीप यादव समर्थकहरुले भने वडा नं १५, १८, २०, २१ र २२ मा अग्रता लिने अपेक्षा गरेका छन् । ती वडाहरु नेपाली कांग्रेसको बाहुल्यता भएको वडा भएकोले यादव पक्षले अपेक्षा गरे जस्तो मत उनीहरुले प्राप्त गर्न सजिलो देखिदैन ।


सम्बन्धित समाचार