Logo

मधेसमा जसपासँग चुनावी गठबन्धन गरेको एमालेले नसोचेको नतिजा प्राप्त गरेको छ । पाँच दलिय गठबन्धनमा रहेका दल मध्ये नेपाली कांग्रेसले गठवन्धनमा रहेका अन्य दललाई मत नदिएपछि एमाले बलियो बनेको हो । कांग्रेसले गठबन्धनबाट भोट लिने तर आफ्नो संगठनबाट नेकपा माआवादी केन्द्र र एकीकृत समाजवादीका उमेदवारलाई मत नजादा त्यसको फाइदा एमालेले उठाएको छ ।

२०७४ को निर्वाचनमा मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये २ वटामा सिमित बनेको नेकपा एमाले यो पटक फड्को मार्न सफल भएको छ । मंसिर ४ मा सम्पन्न आम निर्वाचन अन्तर्गत शुक्रबारसम्म सार्वजनिक नतिजामा एमालेले जम्मा सात सिट जितिसकेको छ । अघिल्लो निर्वाचनमा सिराह ३ बाट लिलानाथ श्रेष्ठ र धनुषा ४ बाट रघुवीर महासेठ विजयी भएका थिए ।

एमालेले जितेका निर्वाचन क्षेत्रहरूमा पर्सा ३ बाट राजकुमार गुप्ता, बारा १ मा अच्यूत मैनाली , बारा ३ मा ज्वाला कुमारी साह, सर्लाही ३ मा हरि उप्रेती, धनुषा ३ मा जुली महतो, सिराहा १ रामशंकर यादव र सिराहा ३ मा लिलानाथ श्रेष्ठ छन् । धनुषा ४ मा रघुवीर महासेठले नेपाली कांग्रेसका उमेदवार महेन्द्र यादवसँग प्रतिस्पर्धा गर्दै छन् । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले २ हजार मतान्तरले अग्रता गरिरहेको छ ।

यसैगरी महोत्तरी १ मा पनि नेकपा माओवादी केन्द्रका उमेदवार गिरिराजमणी पोखरेलसँग नेकपा एमालेका उमेदवार लक्ष्मी महतो कोइरीले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा एमालेका कोइरी भन्दा माओवादीका पोखरले झण्डै एक हजार मतले अगाडी छन् । अहिले बर्दीवास नगरपालिकाका वडामा गणना भइरहेको छ । यी क्षेत्रमा दुबै पक्षको वलियो पकड रहेकाले कसले जित्छ यसै भन्न सकिने अवस्था छैन ।

मधेसका ३२ सिटमध्ये एमालेले जसपालाई १७ सिटमा सघाउने र बाँकी १५ सिटमा जसपाले एमालेलाई सघाउने सहमति भएको थियो । धनुषा ४ र बारा ३ मा भने जसपा र एमाले विच मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको थियो ।

एमालेकी उमेदवार ज्वाला कुमारी साहले झण्डै ३ हजारको मतान्तरले जसपाका उमेदवार रामबाबु कुमार यादवलाई हराउदै विजयी भएकी हुन । जसपाले अहिलेसम्म ३ सिटमा जित निकालेको छ भने २ सिटमा अग्रता लिएको छ ।

जसपाले जित निकालेका क्षेत्रहरूमा पर्सा १ मा प्रदीप यादव, सप्तरी १ मा नवलकिशोर साह सुडी, सिराहा ४ मा वीरेन्द्रप्रसाद साह महतो निर्वाचित भैसकेका छन् । मतगणना जारी रहेका र जसपाले अग्रता लिएका क्षेत्र मध्ये सिराहा २ मा राजकिशोर यादव र धनुषा १ मा दिपक कार्कीले अग्रता लिएका छन् । महोत्तरी ३ मा लोसपाका महन्थ ठाकुरले अग्रता लिएका छन् । उनले जसपाका हरिनारायण यादवलाई पछाडी पारेका हुन ।

मधेसमा पाँचदलिय गठबन्धनका दल मध्ये नेपाली कांग्रेसमा देखिएको आन्तरिक लडाईको फाइदा एमालेले उठाएको छ ।


सम्बन्धित समाचार