Logo

१० मंसिर, वीरगञ्ज । पर्सामा निर्वाचन जितेका केही राजनीति दलले विजय जुलुसमा एकले अर्काको निर्वाचन चिन्ह्र र उमेदवारको तस्विरमा अपमानित हुनेगरी प्रर्दशन गरेकोमा नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
नागरिक समाजका अगुवाहरुले दलहरुको विजयी ¥यालीमा अश्लील खालका नृत्यहरु प्रर्दशनगरी ध्वनी प्रदुषण फैलाएकोमा आपत्ती जनाएका छन् ।

यो भिडियो हेरौ न यसले कस्तो राजनीतिक संस्कार विकास गर्छ सोचौ त ?

उनीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत जितको उन्मादमा गरिएका गलत गैरराजनीतिक कार्य तुरुन्त बन्द गर्न र चुनावी प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर पक्षको रुपमा लिएर दलहरु विच कटुता र वैरभाव हुने खालका गतिविधि नगर्न दलका प्रतिनिधिसँग अपिल गरेका छन् ।

लोकतन्त्रको लागि निर्वाचन एउटा महत्वपूण पक्ष हो । निर्वाचनमा प्रतिस्पर्धा स्वभाविक हो । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष पनि हो । आफूले मन परेको योग्य उम्मेदवार मतदाताले आफ्नो मतबाट नै प्रकट गर्छन् । मतदाताले प्रकट गरेको अभिमतबाट विजयी उम्मेदवारले उन्मादमा गलत हर्कत गर्दा मतदातामा नकरात्मक प्रभाव पर्ने भएकोले त्यस तर्फ सचेत रहन दलका नेतृत्व र स्वयं उमेदवार जिम्मेवार बन्नु पर्ने धारणा विश्लेषकहरुको छ ।

पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जसपाबाट विजयी भएका प्रदीप यादव र पर्सा २ बाट नेपाली कांग्रेसको तर्फबाट विजयी भएका अजय चौरसियाको ¥यालीमा सहभागीहरुले जसपाको निर्वाचन चिन्ह्र छातालाई लात्ती हानेर भाच्नु र प्रदीप यादवको विजयी जुलुसमा सहभागीहरुले अजय द्विवेदीको चुनाव चिन्ह्र माछालाई संकेत गर्नेगरी जिउदो माछा बासमा उनेर उमेदवारलाई होच्याउने खालका अभिव्यक्ती सहित प्रर्दशन गरिएको तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

प्रतिनिधिसभा सदस्यमा पर्सा १ बाट जितेका जसपाका प्रदीप यादवको विजय जुलुसमा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीको चुनाव चिह्न माछा छापको अपमान गरिएको छ । ज्यूँदो माछालाई निमोठेर विजय जुलुसमा सहभागी जसपाका कार्यकर्ताले विपक्षीलाई निमोठेको इंगित गर्दै प्रदर्शन गरेका छन् । जुलुसमा सहभागीहरुले जिउदो माछालाई बाँसको घोचामा उनेर जुलुसमा प्रदर्शन गरिएको दृश्य सामाजिक सञ्जालमा राखिएको छ ।

यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं २ बाट वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका उमेदवार अजयकुमार चौरसिया, क्षेत्र नं २ (१) बाट प्रदेशसभा सदस्य श्याम पटेल र २ (२)बाट लोसपाका रमेश कुर्मी सम्मिलित संयुक्त विजय जुलुसमा जसपाको चुनाव चिह्न छाता छापको अपमानजनकरूपमा प्रदर्शन गरिएको थियो । नेपाली कांग्रेस र लोसपाका कार्यकर्ता सम्मिलित विजय जुलुसमा छातालाई च्यात्ने, लात्तीले हान्नेजस्ता अशोभनीय र आचार संहिता विपरितका कार्य गरिएको थियो ।

निर्वाचनको प्रतिस्पर्धामा मतदाताको विश्वास जितेर जनमतबाट विपक्षीलाई पराजित गर्न सक्ने क्षमता नै राजनीति गर्ने व्यक्तिमा हुनुपर्ने गुण हो । तर, चुनावी प्रतिस्पर्धामा सँगै भाग लिएर निर्वाचन परिणाम पछि (उपविजेता) प्रतिद्धन्दी भएका उमेदवारलाई होच्याउने, मानमर्दन गर्नेखालका उत्तेजित अभिव्यक्ति दिएर ठूलो नेता भइन्छ भन्ने भ्रम पालेका व्यक्तिहरुको कारण राजनीति प्रति वितृष्णा पैदा हुन थालेको भनाई युवा विद्यार्थी रोशन पटेलको छ ।

विजय पछि निकालिने जुलुशमा गरिएका अशोभनीय हर्कतले जनताद्वारा अनुमोदित उम्मेदवारको विजयी उन्मादको भद्दा मजाक झल्काएको छ । यसलाई समाजले भने गलत राजनीतिक संस्कारको रुपमा लिएका छन् । विजयी उम्मेदवारहरुले विजय जुलुश निकालिरहँदा देखिएका दृश्यहरुले असह्य भएपछि सामाजिक सञ्जालहरुमा त्यसको व्यापक आलोचना भएको छ । नेपाल रेडक्रस सोसाईटीका उपमन्त्री साविर अहमद एराजले विजयी जुलुश निकाल्दा रबि लामिछानेबाट सिक्नुपर्ने सुझाव दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक पेजमा विजय जुलुश निकाल्दा अरु पार्टीका उम्मेदवारहरुलाई अपमान गर्ने र होच्याउने खालका गतिविधि नगर्न कार्यकर्तालाई रोक लगाउन आग्रह गरेका छन् । त्यस्तै डाक्टर राकेश कुमार झाले पनि विजय जुलुश निकाल्दा अश्लिलता प्रर्दशन नगर्न, ध्वनी आतंक बन्द गर्न आग्रह गरेका छन् ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘नेताजी ।। कृपया समाजलाई डीजे आतंकबाट बचाऊ ।। विजय जुलुशलाई अश्लील नबनाई समाज तथा नयाँ पुस्ताको भविष्य तिर सुधार गर्न सकारात्मक भूमिका निर्वाह गरौं ।’
सामाजिक अभियन्ता प्रकाश थारु राजनीतिक व्यक्तिको नभई अराजक भीडको उपज भएको बताउछन् । उनी भन्छन्, “विजय भएपछि जुलुश निकाल्नु विजय उत्सव मनाउनु स्वभाविक भएपनि कुनै राजनीतिक दल र उनका उमेदवारलाई लक्षित गरेर गैरराजनीतिक रुपमा प्रर्दशन गर्नु गलत कार्य होे ।”

निर्वाचित भएका उम्मेदवारले आफनो क्षेत्रमा तडक भडकसहित ठुलो स्वरमा भोजपुरी अश्लिल गीत बजाएर बिजय जुलुस गर्दै छन । जुलुसको क्रममा जितेका उम्मेदवारका कार्यकर्ताहरुले उच्छृँखल खालको गतिबिधी समेत गरिरहेका छन । उनीहरुले हारेका उम्मेदवारको चुनाव चिन्हको मान मर्दन समेत गर्ने गरेको पाइएको छ । यस्ता गतिबिधी समाजका लागि नराम्रो रहेको र राजनीतिक सँस्कारको खिलापमा रहेको पर्सा जगरनाथपुर गाउँपालिकाका स्थानीय सहरुम गदीको भनाई छ ।

चर्को स्वरमा डिजे बजाउने त्यसमाथि पनि अश्लिल गितहरु बजाईनुले समाजिक सदभाव बिगार्ने कार्य गरेको समाजिक अभियनता प्रकाश थारुले बताए । जितेका उम्मेदवारका कार्यकर्ताहरुले कतिपय स्थानमा झै झगडामा समेत उत्रिने गरेका कारण तडक भडक कम गरेर बिजय जुलुस गर्नुपर्ने सुझाव छ उनको ।

पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेले सामाजिक सञ्जालमा कुनै उमेदवारको वारेमा अपमानित हुने खालका संकेत वा तस्विर राखेको पाइएमा त्यस्तो कार्य गर्ने उपर कानुन आकर्षित हुने बताए । यसमा निर्वाचन कानुन सँग प्रचलित अन्य कानुनपनि आकर्षित हुन्छ ।

विजय जुलुसमा प्रतिद्धन्दी उमेदवारलाई अपमानित हुने व्यवहार गरेमा जुन दलबाट त्यस्तो भएको हो त्यहीँ दलको उमेदवार र दल जिम्मेवार रहने कानुनी व्यवस्था रहेकोले यसमा निर्वाचन आयोगमा उजुरी लाग्ने भनाई मुख्य निर्वाचन अधिकृत पोखरेलको भनाई छ ।


सम्बन्धित समाचार