Logo

११ मंसिर, वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य तर्फको मत परिणामलाई लिएर भएको विवाद टुंगिएको छ । मतपेटीका संकलन पछि सार्वजनिक गरिएको कुल खसेको मत र गणना गरिएको मतमा फरक देखिएपछि भएको विवाद समानुपातिकतर्फको मतगणना सकिएपछि टुंगिएको हो ।

प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नं. ३ को मतगणनाको क्रममा २७२ मत मुचुल्का गरेको भन्दा कम रहेको थियो । उक्त मतपत्र गायव गराइएको भन्दै नेपाली कांग्रेसका उमेदवार सुरेन्द्र चौधरीले उजुरी गरेका थिए । हराएको भनिएको २७२ मतपत्र मध्ये १५५ मत समानुपातिक तर्फको मतपेटीकामा भेटिएको छ ।

मतगणना अघि र मत गणनापछि कुल खसेको मतमा २ सय ७२ मत फरक देखिएपछि नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीले निर्वाचन अधिकृतको कार्यालयमा पूनः मतगणनाका लागि निवेदन दिनुभएको थियो । शुक्रबार राति प्रत्यक्ष तर्फको मतगणना सकिएपछि नेकपा एमालेका उमेदवार राजकुमार गुप्ताले नेपाली कांग्रेसका सुरेन्द्र चौधरी भन्दा १५१ मत बढी ल्याएर निर्वाचित भएका थिए ।

गुप्ताले २४ हजार २६० .मत प्राप्त गर्दा नेपाली कांग्रेसका चौधरीले २४ हजार १०९ मत प्राप्त गरेको भनि निर्वाचन आयोगको वेवसाइडमा राखिएको थियो । मंसिर ४ गते भएको निर्वाचनमा पर्सा क्षेत्र नं ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्षतर्फ कूल ६४ हजार ४४८ मत खसेको सार्वजनिक भएको थियो । मतगणनाका क्रममा मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै भेटिएको निर्वाचन अधिकृत योगनाथ ढकालले बताउनुभयो ।

मतपत्रमा फरक परेपछि निर्वाचन अधिकृतको कार्यालयले समानुपातिकको मत गणना नसकिएसम्म एमाले नेता राजकुमार गुप्तालाई निर्वाचित भएको प्रमाणत्र नदिई रोकेर राखेको थियो । समानुपातिकतर्फको मत गणना गर्ने क्रममा १५५ मत समानुपातिकतर्फको मतपेटिकामा प्रत्यक्षतर्फको मतपत्र भेटिएको थियो ।

१५५ मतपत्र गणना गर्दा ५९ मत एमालेमा, ४३ मत नेपाली कांग्रेस, २३ नेपाल सुशासन पार्टीको आमा चिन्हमा, ३ मत हलो चिन्हमा, ४ मत घण्टी चिन्ह र अन्यमा ३ मत परेको छ । त्यस्तै २० मत बदर भएको छ ।

यसरी समानुपातिकतर्फको मतपेटिकामा भेटिएको मतपत्र सहित गणना गर्दा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ताले २४ हजार ३१९ मत प्राप्तगरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले २४ हजार १५२ मत प्राप्त गरेका छन् । पहिले घोषणा गरिएको मत परिणाम भन्दापनि नेकपा एमालेका गुप्ताले १६ मत बढी ल्याएर विजयी भएका छन् ।


सम्बन्धित समाचार