२६ मंसिर, वीरगञ्ज । वीरगन्जबाट बेपत्ता भएका व्यावसायी सुनिल अग्रवाल भारतमा मृत फेला परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ निवासी अग्रवाल आईतबार बिहान प्रभातीय भ्रमणमा निस्किएदेखि बेपत्ता भएका थिए ।
अग्रवालको भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको छौडादानों रेलवे क्षेत्रमा फेला परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पशुपति इलेक्ट्रिक हाउसका संचालक ५० वर्षीय सुनील अग्रवाल वीरगन्जमा प्रभातीय भ्रमणका क्रममा बेपत्ता भएपछि परिवारले खोजतलास गरेका थिए ।
आफन्त र साथीभाईकोमा खोजी गर्दा समेत उनी फेला नपरेपछि परिवार जनले प्रहरीलाई खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएका थिए । परिवारका सदस्य देवकी प्रसाद अग्रवालका अनुसार सधैं बिहान ५ बजे प्रभातीय भ्रमणमा निस्किएर उनी ७ बजे घर फर्किने गरेका थिए ।
उनी हिजो ९ बजेसम्म पनि घर नफर्किएपछि खोजी शुरु भएको थियो । अग्रवालको छौड़ादानो रेल क्षेत्रमा फेला परेको उनको शव आईतबार नै रक्सौल स्टेशनमा ल्याएको छ ।
मृतकको शव पोष्टमार्टम गरी कानूनी प्रकृया पूरा गरेर परिवारको जिम्मा लगाईने भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । भारतीय सुरक्षा अधिकारीहरुका अनुसार परिवारजनले शवको पहिचान गरिसकेको छ ।
नेपाल प्रहरीले उनी बेपत्ता भएको सूचना पाएपछि खोजी कार्यलाई तीब्र बनाएको थियो । भारततर्फका सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गरेको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताउनुभयो ।


















