Logo

२६ पुस, वीरगञ्ज । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।

आजको बैठकमा २७० जना उपस्थित थिए ।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

दाहाल गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २६८ सांसदले विश्वासको मत दिएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन हृवीप नै जारी गरेका थिए ।

प्रतिनिधिसभामा २७५ सदस्य छन् । त्यसमध्ये एक सांसद निलम्बित छन् भने राप्रपा सांसद पशुपति शमशेर जबरा बैठकको अध्यक्षता ग्रहण गरेकाले मतदानमा सहभागी भएनन् । मंगलबार भएको मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए ।

दाहालले २६८ मत पाएका छन् भने विपक्षमा २ मत खसेको छ । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीबाहेक सबै दल र स्वतन्त्र सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्री दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र तीन स्वतन्त्र सांसदले मत दिएका छन् भने नेकपा एकीकृत समाजवादीका १० र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले सरकारमा सहभागी नभएपछि विश्वासको मत दिएका छन् ।

संविधानको धारा ७६ ९४० ले उपधारा २ र ३ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले त्यसरी मनोनित भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।


सम्बन्धित समाचार