Logo

२५ फागुन, काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएको छ ।नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयो । पीएनजीका लागि नोरमान भानुवाले ६०, टोनी उराले ५०, आसाद भालाले ४२ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले १ सय १० रन बनाए । यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रन बनाए ।

बलिङतर्फ पीएनजीका सेमो कमियाले ५ र रिले हिकुरेले ३ विकेट लिए ।यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन÷जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ ।

शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २÷२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाको अर्काे खेलमा नेपालले आइतवार यूएईसँग खेल्नेछ ।अङ्क तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित पाँचौँ स्थानमा छ ।

पीएनजी उति नै खेलमा ९ अङ्कसहित तालिकाको पुछारमा छ । यूएई ३२ खेलमा ३१ अङ्कसहित छैटौँ स्थानमा छ । लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् ।सभार— उज्यालो


सम्बन्धित समाचार