Logo

१५ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू आइतबारबाट काटेर हटाउने भएको छ । अव्यवस्थित तारले वीरगन्ज कुरुप बनेको समाचार नारायणी एफ.एम र रेसखबरबाट निरन्तर प्रसारण÷प्रकाशन हुँदा यसको प्रभाव देखिएको छ ।

महानगरक्षेत्रमा सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले नगरक्षेत्रको अव्यवस्थित तार काटेर हटाउने निर्णय गरेको हो । पहिलो चरणमा आइतबारदेखि घण्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने निर्णय गरिएको महानगरका प्रशासन प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।

महानगरले पटक पटक तार व्यवस्थापनका लागि पहल गर्दा समेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट भने काटेरै हटाउन लागिएको हो । बिहीबार बसेको बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भएपनि ५ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागि भएका थिए ।

नेपाल टेलिकम, सीजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागि थिए । वीरगञ्जको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलहरूमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाहरूले टाँगेका तारहरू अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकोले महानगरले व्यवस्थापनको लागि पटक पटक प्रयास गर्दै आइरहेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनहरूमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुन सक्ने हुँदा ती तारहरूको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो । बैठकमा सहभागि सेवाप्रदायक कम्पनीका प्रतिनिधिले तार व्यवस्थापनमा अटेर गर्ने सेवा प्रदायकलाई जरिबाना गर्ने व्यवस्था सुरु गर्न पनि आग्रह गरेका थिए ।


सम्बन्धित समाचार