Logo

२७ वैशाख,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पराकम्पन गएको छ।
सभापति देउवाका विश्वास पात्र रहेका खाँणको पक्राउले देउवा परिवारमा तरंग आएको हो। उनको पक्राउले सभापति देउवा र पत्नी आरजु आतंकित बनेका छन्।

स्रोतका अनुसार आज बिहान कांग्रेस नेता खाँणको पक्राउ परेपछि देउवा निवासमा सन्नाटा छाएको छ। उनी आफ्ना निकटस्थहरुसँग विशेष छलफलमा जुटिरेहेका छन्।
कांग्रेसमा सभापति देउवाका विश्वासपात्रका रुपमा चिनिएका खाँड पत्नी आरजूको समेत निकट रहेका नेता हुन्। खाँणकी पत्नी मञ्जु खाँडको देउवा पत्नी आरजुसँग निकटता रहेको छ। उनीहरुको व्यावसायिक साझेदार रहेको समेत बताइन्छ।

सोही कारणले लहरो तान्दा पहरो थर्किने संशयले देउवा निवासमा खाँण पक्राउ परेपछि सन्त्रास छाएको हो। अनुसन्धानका लागि आरजू समेत तानिन सक्ने सम्भावना रहेकाले देउवा निवासमा आतंक मच्चिएको स्रोतको दाबी छ।आरजू देउवा र मञ्जु खाँणले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम लिएको अडियो सार्वजनिक भएको थियो। हाल उक्त अडियोको वैज्ञानिक परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

केपी ओली सरकारको बहिर्गमन पछि कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा गृहमन्त्रीे खाँणकै पालामा टेकनारायण पाण्डे गृह सचिव भएका थिए। पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखेको छ।ओली सरकारका बेलामा गृहमन्त्री रहेका रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार पक्राउ परिसकेका छन्।

थापाका छोरा प्रतीकविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। प्रहरीले उनको खोजीकार्य जारी राखेको जनाएको छ।
यही प्रकरणमा परेका एमाले सचिव टोपबहादुर रायमाझी हालसम्म फरार रहेका छन्। पक्राउ पुर्जी जारी भएका रायमाझीलई पक्राउ गर्न प्रहरीले सबै जिल्लामा सर्कुलर गरिसकेको छ। उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका उच्च तहका नेता र कर्मचारी मुछिने क्रम जारी रहेको छ। प्रहरीले संगठित अपराधमा अनुसन्धान गरिरहेको उक्त प्रकरणमा थप अन्य आन्तरिक पाटोको उजागर हुन बाँकी रहेको प्रहरी स्रोत बताउँछ। साभार डीसी नेपाल


सम्बन्धित समाचार