Logo

९ जेठ,वीरगञ्ज । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्साले चालु आर्थिक वर्षमा इजाजत नलिई नापतौल यन्त्र प्रयोग गर्ने व्यापारीलाई कारवाही गर्न सुरु गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा कम नापतौलमा सामान बिक्री गरेर उपभोक्तालाई ठगी गर्ने तथा इजाजत नलिई कारोबार गर्ने रौतहटका १३ र चितवनका पाँच गरी १८ जना व्यापारी विरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका प्रमुख मनिष दासका अनुसार रौतहटको पशुपति फेन्सी, माँ लक्ष्मी सुनचाँदी ज्वेलर्स, न्यू प्रिया ज्वेलर्स, रामबलराम ट्रेडर्स, रिसब ट्रेडर्स, बैजु किराना एण्ड जेनरल सटार्स, सरोज बिज भण्डार, कृष्णा राइस मिल, बाबा विश्वकर्मा राइस मिल, पप्पु हार्डवेयर एण्ड मेसिनरी, लक्ष्मी हार्डवेयर, रोशन हार्डवेयर र जय बजरङ्गवली ट्रेडर्सविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

त्यस्तै चितवनको खजुरीको नेपाल प्रालि, खुन्हा एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, प्यासिफिक एक्जिम नेपाल प्रालि, याक ब्रिबीङ्ग कम्पनी प्रालि र याक डिस्टिलरी प्रालिमाथि पनि चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रमुख दासले बताउनुभयो । अनुगमनका क्रममा जाँच गर्दा इजाजत नलिई कारोबार गर्ने गरेको तथा कम तौलमा सामान बिक्री गर्ने गरेको भेटिएपछि उनीहरु विरुद्ध एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी सहित अदालतमा मुद्दा दायर गरिएको उहाँको भनाई छ ।

यसैबिच गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्साबाट चालु आर्थिक वर्षको सोही अवधिमा चार सय ७५ जना व्यापारीले अनुमतिपत्र लिएका छन् । कार्यालय प्रमुख दासका अनुसार सो अवधिमा एक हजार ६२ व्यापारीले नियमित जाँच÷नवीकरण र एक हजार एक सय ६१ व्यापारीले जरिवाना तिरी नवीकरण गराएका हुन् ।

ती सबै शीर्षकबाट चालु आवको साउनदेखि वैशाखसम्ममा एक करोड ९४ हजार तीन सय ७१ रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख दासले जानकारी दिनुभएको छ । कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र पर्ने मधेस प्रदेशको रौतहट, बारा, पर्सा र बागमती प्रदेशको मकवापुर र चितवन जिल्लामा व्यापारीले गैरकानुनीरूपमा प्रयोग गर्ने ढक, तराजुलाई निरुत्साहित गर्न अनुगमन गर्दै आएको कार्यालय प्रमुख दासको भनाई थियो ।


सम्बन्धित समाचार