Logo

१९ असार,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र कम्युनिटी डेभलपमेन्ट एन्ड काउन्सेलिङ्ग सेन्टर प्रालि पर्साको आयोजनामा सूचनाको हक, जवाफदेहीता, आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि, सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

दिपनरायण नमुना आदर्श माध्यमिक विद्यालय पचगावाँको प्राङ्गणमा एक दिने सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, शिक्षा शाखा प्रमुख नेपालेन्दु साह, आयोजक संस्थाका रामाकान्त पटेल, वडा नं.४ का वडाध्यक्ष मोहम्मद आरफी अन्सारी, दिपनरायण माविका प्रअ शिवनाथ प्रसाद थारु, समाजिक विकास शाखा प्रमुख विनोद यादव, वडा नं.३ गया राउत थारु लगायतको उपस्थिती थियो ।

कार्यक्रममा पालिकाको बजेट खर्च विवरण पारदर्शीता नभएको र किसानलाई खाद्य मल वितरण अपुग रहेको, मल वितरणमा विभेद भएको भन्दै वडा नं. ३ का गया राउत थारुले यो सम्पूर्ण काम सार्वजनिक हुनुपर्ने माग गर्नुभएको थियो । साथै उहाँले बिकास निर्माणका कार्यस्थलमा होल्डिङ बोर्ड नभएको ठाँउमा होल्डिङ बोर्ड राख्न माग पनि गर्नुभएको हो ।

महुवनका मनोज रामले महुवन विद्यालयमा शिक्षक सरुवाको विषय लिएर विद्यालयको गतिविधि अस्तब्यस्त भएको र सार्वजनिक सुनुवाइमा सबै वडाका वडा अध्यक्ष तथा उपाध्यक्ष उपस्थित नभएको जानकारी गराउदैँ दलित लक्षित बजेट विनियोजन गर्न माग गर्नुभएको छ । गाउँपालिका अध्यक्ष यशवन्त यादवले गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएकाले सम्पूर्ण वडा अध्यक्ष, उपाध्यक्ष तथा जनताहरुसँग सुझाव माग गर्नुभएको छ ।

उहाँले विद्यार्थी संख्याको आधारमा शिक्षक पूरा गर्न, गाउँपालिकाको भवन आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले शौचालय निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने तथा महुवन विद्यालयको समस्या तत्काल समाधान गर्न सम्बन्धित शाखालाई निर्देश दिएको जानकारी दिनुभयो ।

उहाँले विभिन्न सञ्चार माध्यमहरुले डिजल पेट्रोल र गाडी मर्मतमा अनियमितता भएको भन्दै समाचार प्रशारण गरेपनि यसमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभयो ।


सम्बन्धित समाचार