Logo

२३ असोज, वीरगञ्ज । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) मधेस प्रदेशले आफ्ना नेता कार्यकर्ताहरुलाई लाञ्छना लगाउने वा बदनाम गर्ने कुनैपनि कुराहरु सार्वजनिक रुपमा नलेख्न र नबोल्न निर्देशन गरेको छ ।

पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज लीलामणि पोख्रेलले पार्टी र पार्टीका जिम्मेवार नेता कार्यकर्ता प्रति लक्षित कुनैपनि प्रकारका लेख, रचना, तथा सामाजिक सञ्जालमा स्टाटस नलेख्न सोमबार आन्तरिक परिपत्र गर्नुभएको छ ।

आफूलाई चित्त नबुझेको विषय भए सम्बन्धित कार्यालयमा लिखित रुपमा लेखेर पठाउन सक्ने भन्दै सार्वजनिक रुपमा नेता कार्यकर्ताहरुलाई बदनाम गर्ने गरी लेख, रचना र स्टाटस नलेख्न निर्देशन दिएको हो ।

परिपत्रमा भनिएको छ, “जनतासंग माओवादी विशेष रूपान्तरण अभियान “घरघरमा माओवादी जनजनमा माओवादी” सञ्चालन गरेको आजको संवेदनशील अवस्थामा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य, मधेश प्रदेश, आठवटै जिल्ला एवं जनवर्गीय मोर्चा समेत केन्द्रीय पदाधधकारी र सदस्यदेखि वडासम्मका पदाधधकारी र सदस्यहरु तथा पार्टीका साधारण सदस्य समेतले पार्टीभित्र कसैप्रति लाञ्छाना लगाउने वा बदनाम गर्ने कुनै पनि लेख, रचना वा स्टाटस लेखि सामाजिक सञ्जालहरूमा पोष्ट नगर्नु होला ।

” यदि कुनै नेता कार्यकर्ता त्यस्ता गतिविधिमा संलग्न भएको पाईएमा नेकपा (माओवादी केन्द्र) पार्टीको विधान अनुरूप कायावाहीको दायरामा ल्याउने समेत चेतावनी दिएको छ ।

माओवादी केन्द्रले मधेसमा जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालनका क्रममा केही जिल्लाका नेता कार्यकर्ताले अभियानलाई प्रभावित पार्ने उदेश्यले एकअर्का प्रति लक्षित आरोप प्रत्यारोपका बिषय सामाजिक सञ्जालमा राख्न थालेकोपछि पार्टीले उक्त परिपत्र गरेको हो ।


सम्बन्धित समाचार