२२, जेठ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले नयाँ नेतृत्व पाएको छ ।
गृह मन्त्रालयले हालै गरेको व्यापक प्रशासनिक हेरफेरका क्रममा सह(सचिव सिर्जना थपलियालाई विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको महत्त्वपूर्ण जिम्मेवारी सुम्पेको हो।
यसअघि संखुवासभाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) का रूपमा सफलतापूर्वक कार्यसम्पादन गरिरहेकी थपलियालाई गृहले विमानस्थलको सुरक्षा र व्यवस्थापनको कमान्ड सम्हाल्ने गरी सिंहदरबारबाट एयरपोर्ट पठाएको हो।
विमानस्थल अध्यागमनका पूर्वप्रमुख नरहरि घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारी बनेर गएपछि यो गरिमामय र संवेदनशील पद रिक्त रहेको थियो। सोही खाली ठाउँमा मन्त्रालयले थपलियाको इन्ट्री गराएको हो।
यसैगरी, गृह मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको कमान्ड पनि परिवर्तन गर्दै त्यहाँको प्रमुखमा बलराम निरौलालाई खटाएको छ ।
शुक्रबार गृह मन्त्रालयद्वारा जारी सरुवा सूचीअनुसार विमानस्थलका यी दुई प्रमुख पदसँगै देशका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित कुल १६ जना सहसचिवहरूको कार्यक्षेत्र हेरफेर गरिएको छ ।
यो सरुवालाई गृह प्रशासनलाई अझ चुस्त र प्रभावकारी बनाउने मन्त्रालयको प्रयासका रूपमा हेरिएको छ।

















