Logo

२२ जेठ,वीरगञ्ज ।  वीरगञ्जको बजारमा मानव स्वास्थ्यका लागि हानिकारक विषादी कार्बाइट प्रयोग गरी कृत्रिम रूपमा पकाइएका आँप खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ। बगैंचामा प्राकृतिक रूपमा पाक्नुपर्ने समय नपुग्दै बजारमा आएका आँपले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढाएको छ।

व्यापारीहरूले भारतबाट आयात गरिएको तथा पूर्वी जिल्लाबाट ल्याइएका काँचो आँप गोदाममा राखी कार्बाइट प्रयोग गरेर छिटो पकाएर बिक्री गर्दै आएको आरोप छ। वीरगञ्जका साथै पोखरिया, बाराको कलैया, जितपुर र सिमरा क्षेत्रका बजारहरूमा समेत यस्ता आँप बिक्री भइरहेको उपभोक्ताहरूले बताएका छन्।

व्यापारीहरूले प्रतिकिलो ४० देखि ५० रुपैयाँमा काँचो आँप खरिद गरी कार्बाइट प्रयोगपछि १ सय देखि १ सय ५०  रुपैयाँसम्ममा बिक्री गर्ने गरेको देखिएको छ।

वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी संघका एक पदाधिकारीका अनुसार सिजनको सुरुवातमा भारतका गोवा, मद्रास, केरला र आन्ध्र प्रदेशबाट आँप आयात हुने गर्छ। असार पहिलो सातापछि भने पूर्वी तराईका जिल्लाबाट समेत आँप आउने गरेको छ।

चिकित्सकहरूका अनुसार कार्बाइट प्रयोग गरी पकाइएका आँप सेवन गर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, स्मरणशक्ति कमजोर हुने, श्वासप्रश्वासमा समस्या हुने तथा झाडापखालाजस्ता स्वास्थ्य समस्या देखिन सक्छन्। नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले यस्ता रसायनयुक्त फलफूल दीर्घकालीन रूपमा अत्यन्त हानिकारक हुने बताएका छन्।

खाद्य ऐन २०२३ अनुसार कार्बाइट प्रयोग गरी फलफूल पकाउनु प्रतिबन्धित छ। उक्त ऐनअनुसार यस्तो कार्य गर्ने व्यवसायीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

तर, प्रतिबन्धित रसायन प्रयोग गरी पकाइएका आँप खुलेआम बिक्री भइरहँदा पनि स्थानीय प्रशासन मौन रहेको उपभोक्ताहरूको गुनासो छ। उपभोक्ताहरूले तत्काल अनुगमन र कडा कारबाहीको माग गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै