Logo

१०पुस,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि र जनताको सहभागिता बढाउनका लागि र कार्यान्वयनमा सहजताका लागि बजेटका सिद्धान्त र प्राथमिकतामा हुने छलफलको परम्परा तोड्न लागिएको जानकारी दिएका हुन् ।

’सरकारको नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत धारबाट भिन्न बनाउनै पर्दछ । आगामी वर्षको नीति तथा कार्यषक्रम र बजेट निर्माणमा जनप्रतिनिधि र आम नागरिकको समेत प्रतिक्रिया लिने गरी बजेटका सिद्धान्त र प्राथमिकता सकेसम्म फागुनमै पेस गर्ने हाम्रो तयारी छ,’ उनले भने, ’प्राप्त सुझावसमेत समेटी नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने गृहकार्यमा म छु । यसबाट नीति तथा कार्यक्रममा सबैको सहभागिता र अपनत्व स्थापित भइ कार्यान्वयन पनि सहज हुनेमा म विश्वस्त छु ।’

प्रधानमन्त्री दाहालले पुँजीगत खर्च क्षमता बढाउनका लागि निर्णायक हस्तक्षेप गर्नुपर्ने बताएका छन् । ’विगत केही वर्षदेखि नै कमजोर रहेको पूँजीगत खर्च गर्ने क्षमतामा निर्णायक हस्तक्षेप गर्न अब ढिला भइसकेको छ । बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापूर्ण योजनाहरूमा बजेट विनियोजन हुन सक्यो न खर्चको सही आँकलन नै हुनसक्यो,’ उनले थपे, ’यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भइ नै रह्यो । त्यसैले म नीति योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु ।’

प्रि बजेट छलफल कर्मकाण्डी भएको भन्दै सांसदहरूले सधै सरकारको आलोचना गर्दै आएका थिए । यसपटक त्यो परम्परा तोडेर प्रि बजेट छलफल फागुनमा नै भएमा सांसदहरूले उठाएका विषय सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेट्न सहज हुने प्रधानमन्त्रीको भनाइ छ ।

 


सम्बन्धित समाचार