![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/05/20230420_082314-1.webp?fit=1280%2C668&ssl=1)
१२ माघ, वीरगञ्ज । बीरगंज महानगरपालिकाले पत्रकारहरुको लागि आपतकालीन कोष स्थापना गर्ने भएको छ । वीरगञ्ज महानगरपालिका आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिको वैठकले बीरगंजका पत्रकारहरुका लागि आपतकालिन कोष खडा गर्ने निर्णय गरेको हो ।
आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा महानगरपालिकाको सभा हलमा सम्पन्न वैठकले वीरगंजका श्रमजीवी पत्रकारहरुलाई आपतकालिन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन आपतकालिन कोष निर्माण गर्ने निर्णय गरेको छ ।
वैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष संचालनको कार्य विधि समेत बनाउने भएको छ ।
त्यसैगरी वैठकले बीरगंज महानगरपालिकाले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक ध्रुव अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।
वैठकले लोक कल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताउनु भयो ।
बैठकमा समितिका सदस्य वृजलाल पासवान, मनोज पटेल, अमित अग्रवाल, मुस्कान श्रेष्ठ, माधुरी महतो, अमित साह, सदस्य सचिव हरिओम प्रसाद चौधरी, महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार लगायतको सहभागिता रहेको थियो ।