Logo

१७ माघ,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) विरुद्धको फाइल जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले १३ सय ६८ उजुरीको फाइल जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।

गृह मन्त्रालयले मिटरब्याजविरुद्ध छानविन तथा कारवाही गर्ने अधिकार प्रहरीलाई दिएको थियो । सोही निर्णय बमोजिम फाइल पर्सा प्रहरीलाई हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मिटरब्याजको मुद्दा अनुसन्धान गर्न मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै गृह मन्त्रालयले देशभर सर्कुलर गरिसकेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भुषालका अनुसार अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जिल्लामा १३ सय ६८ उजुरी विचाराधिन छन् ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन भएपछि जिल्लाबाट हालसम्म १८ सय ७५ उजुरी परेका थिए । जसमध्ये पाँचसय ७ उजुरी छलफलबाट फच्र्छौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जनाए ।

२ उजुरीहरुमाथि छलफलमा सहमति नजुटेपछि मुद्दा दर्ता गरेको उनले बताए ।यसैबिच जिल्ला प्रहरी कार्यालय पर्साले मिटरब्याजविरुद्ध उजुरी दर्ता गर्न पाउने भएको छ ।

गृह मन्त्रालयको निर्णयबमोजिम जिल्ला प्रहरी कार्यालयले अनुचित लेनदेन सम्बन्धि सम्पूर्ण उजुरी दर्ता गर्न पाउने भएको हो ।

सहायक प्रजिअ लम्सालका अनुसार जिल्ला प्रहरीले मिटरब्याजको उजरीविरुद्ध नोटिस जारी गर्नेछ, उनीहरुलाई एकपटक छलफलका लागि बोलाइने र छलफलमा सहमति नभए जिल्ला प्रहरी कार्यालयलाई नै मुद्दा दर्ता गर्ने अधिकार हुनेछ ।


सम्बन्धित समाचार