Logo

७ फागुन, वीरगन्ज। वीरगन्ज महानगरपालिकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साँझ ५ बजेपछि महानगरपालिकाका विभिन्न स्थानहरुमा कफ्र्यू आदेश जारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् निमित्त प्रहरी प्रमुख कुमारबिक्रम थापाले जनाए ।

नेपाल प्रहरीकोतर्फबाट पाँच सय र सशस्त्र प्रहरीकोतर्फबाट पाँचसय गरि एक हजार जना प्रहरी जिल्लामा विभिन्न स्थानहरुमा खटाइएको निमित्त प्रमुख थापाले बताए ।
महानगरको माइस्थान चोक, आर्दशनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार एरिया लगायतका मुख्य चोक तथा गल्लीहरुमा समेत ठूलो संख्यामा प्रहरी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जनाए ।

प्रजिअ भुषालका अनुसार अहिले पनि बीरगन्ज महानगरपालिकाको अवस्था तनावग्रस्त छ, सोहीलाई मध्यनजर गर्दै थप मद्दतका लागि अन्य जिल्लाबाट पनि थप प्रहरी मगाइएको छ ।

यसैबीच आज दिउँसो बीरगन्जको फरकफरक स्थानमा भएको विवादमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ११ जना प्रहरी घाइते भएका छन् । नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित ९ जना र सशस्त्र प्रहरीबाट २ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साले जनायो । प्रहरी घाइते हुनुको साथै उग्र अवस्था बन्दै गएपछि प्रहरीले भीड नियन्त्रण गर्न केही थान अश्रुग्यास समेत प्रहार गरेको पर्सा प्रहरी बताउँछ ।


सम्बन्धित समाचार