Logo

८ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा दोस्रो दिन पनि बिहान १० बजेदेखि कफ्र्यू लागेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले ४ घण्टाका लागि खोलेको कफ्र्यू पूनः १० बजेदेखि यथावत् गरिएको हो ।

कफ्र्यू जारी भएपछि अहिले वीरगञ्ज बजार बन्द छ । यस्तै मुख्य सडक तथा गल्लीमा रहेका सबैजसो पसलहरु पूर्णरुपले ठप्प छन् । भने महानगरभित्र चल्ने साना तथा ठूला सवारीसाधनहरु चलेका छैनन् । कफ्र्यू आदेश पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपले महानगरपालिकाभित्र खटाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाका अनुसार दोस्रो दिनको कफ्र्यूको पालना गराउन प्रत्येक मुख्य सडकहरु, चोकचोक एवम् संवेदनशील ठाउँहरुमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् ।

महानगरपालिकाभित्र प्रहरीको मोबाइल गस्ती, पेट्रोलिङ तथा सादा पोशाकसहित व्यापक संख्यामा खटाइएको उनले जनाए ।

यसैबिच पर्सा प्रहरीले महानगरपालिकाभित्र कफ्र्यू आदेश जारी रहेको समयमा उच्छृङ्खल गतिविधि गरेको भन्दै ९ जनालाई पक्राउ गरेको जनाएको छ ।

कफ्र्यूको बेवास्ता गरेर टायर बाल्दै प्रदर्शन गर्ने तथा नाराबाजी गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरिक्षक ध्रुवबहादुर श्रेष्ठले बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको प्रहरीले जनायो ।

सोमबार दिउँसो बीरगन्जमा दुइ समुदायबिच झडप हुने अवस्था देखिएपछि प्रशासनले कफ्र्यू लगाएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले महानगरभित्र हिजो साँझ ५ बजेदेखि कफ्र्यू आदेश जारी गरेको छ ।


सम्बन्धित समाचार