Logo

०९ फागुन, बारा । बारामा फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय बाराले फागुन १३ देखि चैत ८ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । जनस्वास्थ्य कार्यालयले खोप अभियान सञ्चालनको तयारी अघि बढाएको छ । बारामा ९ महिना देखि १५ बर्ष उमेर समुहका २ लाख ३० हजार ३ सय १४ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादबले बताउनु भयो ।

जिल्ला भरी ८ सय ७६ खोप केन्द्र स्थापना गरि २ हजार १४ जना स्वास्थ्यकर्मी र २ हजार १४ जना स्वयंसेवक खटाइने उहाँले जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय बाराका प्रमुख यादबले दादुरा रुबेला विरुद्धको खोप अभियान कार्यक्रम निर्देशिका अनुसार तयारी थालिएको बताउनुभयो । उहाँले अभियानलाई तीन चरणमा बाँडिएको बताउँदै पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकामा खोप लगाइने जानकारी दिनुभयो ।

यसैगरी दोस्रो चरण अन्तर्गत फागुन २० गतेदेखि २४ गतेसम्म निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका र बारागढी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।

यस्तै तेस्रो चरणको कार्यक्रम अन्तर्गत चैत्र ४ गते देखि ८ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका आर्दश कोतवाल गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । जनस्वास्थ्य कार्यालय बाराका प्रमुख यादबले यो खोप अभियान सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले कुनैपनि बालबालिका नछुट्ने गरी काम गर्न पनि निर्देशन दिनुभएको छ ।

सरकारले सन् २०२६ सम्म दादुरा रुबेला रोगलाई निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०१३ मा पहिलो पटक दादुरासँगै रुबेला विरुद्धको खोप लगाइएको थियो । दादुरा र रुबेला दुवै भाइरसबाट बालबालिकामा सर्ने सरुवा रोग हुन् । जिल्ला समन्वय समिती बाराका अध्यक्ष नरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको बिशेष उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार