Logo

११ फागुन, जनकपुर । मधेश प्रदेशलाई दादुरा–रुबेला पूर्ण खोप घोषणा गर्नका लागि यही फागुन १३ गतेदेखि २५ दिवसीय अभियान संचालन हुने भएको छ ।

जनकपुरधाममा शुक्रबार मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अभिमुखिकरण गोष्ठी कार्यक्रममा सञ्चारकर्मीहरुलाई स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले मधेश प्रदेशको चार जिल्लालाई पूर्ण खोप घोषणा गरेसंगै मधेश प्रदेशलाई पूर्ण खोप घोषणा गर्ने योजना रहेको बताए ।

दादुरा–रुबेला खोप अभियान २०८०÷०८१ अन्तर्गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म ९ महिने शिशुदेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई खोप दिने कार्यक्रम रहेको उनले बताए । खोप अधिकृत झाले मधेश प्रदेशका ८ वटै जिल्लामा करिब १९ लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने लक्ष्य रहेको बताए । उनले ७७ वटा जिल्लाहरुमध्ये मधेश प्रदेशमा सिरहा, सप्तरी, सर्लाही र बारा जिल्ला पूर्ण खोप घोषण भइसकेको बताए ।

घोषणा हुने प्रक्रियामा धनुषा, महोत्तरी, रौतहट र पर्सा रहेको उनले बताए । उनले मधेश प्रदेशमा कुल जम्मा खोप केन्द्र संख्या ११ हजार ३ सय ४६ रहेका जसमध्ये खोप कार्यकर्ता १५ हजार ५ सय ८४ तथा स्वयंसेवक संख्या १५ हजार ५ सय ८४ रहेको बताए ।

स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक श्रवण कुमार नायकले दादुरा रुवेला भ्याक्सिन १० मात्रा भाइल २ लाख ५१ हजार ७ सय ९८ थान प्राप्त भएको तथा ए.डी. सिरिन्ज ०.५ एम.एल. २ करोड १९ लाख ४ हजार साथै घोलक सिरिज ५ एम.एल. २ लाख १९ हजार ६०० सय र सेफ्टी बक्स २६ हजार ९ प्राप्त भएका ध्यानाकर्षण गराए ।

दादुरा–रुबेला विरुद्धको खोप अभियान तोकिएको तथा लक्षित समूहका लागि सुरक्षा कवचको रुपमा रहेकाले जनसमुदायलाई सुसुचित गर्न हरेक क्षेत्रवाट पहल हुनुपर्ने उनले बताए ।


सम्बन्धित समाचार