Logo

११ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा करिब ४० हजार जना बालबालिकालाई दादुरा रुबेला खोप अभियान अन्तर्गत खोप लगाईनेभएको छ । उपमहानगरपालिकामा फागुन १३ गते देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने लक्ष्य राखिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिनुभयो । खोप अभियान कार्यक्रम सफल रुपमा सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी उपमहानगरपालिकामा सञ्चालन भइरहेका छन ।

अभियानअन्तर्गत नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए । उपमहानगरपालिकाको २४ वटा वडाको २५ ठाउँमा खोप लगाईने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

अभियान भरी उपमहानगरमा ७५ जना स्वास्थ्यकर्मी र १ सय ३७ जना स्वयंसेविका परिचालन गरिने छ । खोप अभियानमा आ आफनो बालबालिकालाई ल्याई खोप लगाउँन घरघरमा निमन्त्रणा कार्ड पठाउने कार्य हुने जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिए । अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइने उनले जानकारी दिए। खोप अभियानको अवधिमा जीतपुरसिमराका १ सय वटा खोप केन्द्रमार्फत खोप लगाईने जीतपुरसिमरा उपमहानगरपालिकाको योजना छ ।

खोपको सफल सञ्चालनकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले वडा स्तरीय खोप समन्वय समिति नै गठन गरेर वडाले तोकेको ठाउँमा खोप लगाउने उपमहानगरले जनाएको छ । यो अभियानमा विश्व स्वास्थ्य संगठनले प्राविधिक सहयोग गरिरहेको छ । अभियानबारे सञ्चारकर्मीसँग भएको अभिमुखीकरण कार्यक्रममा दादुरा रुबेलाको बारेमा आफनो लेख ,रचनाको माध्यमबाट प्रचारप्रसार गर्न अनुरोध गरिएको थियो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४५ वर्षदेखि दादुरा खोप र विगत १२ वर्षदेखि रुबेला खोप सयुक्त रुपमा सञ्चालन गर्दै आएको छ । हरेक ४ वर्षमा खोप अभियान सञ्चालन हुन्छ । सरकारले सन २०२६ सम्ममा नेपालबाट दादुरा र रुबेला रोग नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।


सम्बन्धित समाचार