Logo

१२ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा भोलिबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरू सञ्चालन हुने भएको छ । महानगरमा दादुरा–रुबेला खोप अभियान अन्तर्गत पहिलो दिन वडा नं ३ बिर्तास्थित त्रिजुद्ध मावि परिसरबाट सुरु हुने भएको हो ।

नौ महीनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाएर शुभारम्भ गरिने महानगर स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले जनाए । दोस्रो चरणको अभियान फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा सञ्चालन गरिने उनले बताए ।

अभियानमा महानगरका ७४ हजार चार सयजना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहा बताउँछन् । उनका अनुसार दादुरा–रुबेलाविरुद्ध खोप अभियान अन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत २९८ वटा खोप केन्द्र स्थापना गरिने छ ।

एउटा खोप केन्द्रमा न्यूनतम २५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको कुशवाहाले बताए । अभियानको क्रममा दादुरा–रुबेलाको खोप लगाउने क्रममा हुन सक्ने सम्भावित अवाञ्छित घटना व्यवस्थापनका लागि नारायणी अस्पतालका सूचना अधिकारी डा.उदयनारायण सिंह, डा शैलेश ठाकुरसहित तीनजना चिकित्सकलाई जिम्मेवारी दिइएको बताइएको छ ।
अभियान सफल पार्न वडाध्यक्षहरूको भूमिका महत्वपूर्ण हुने र यसमा सहयोग गर्न आग्रह समेत गरिएको छ ।


सम्बन्धित समाचार