Logo

१२ फागुन,वीरगञ्ज । पर्सा जिल्लाको १४ वटै पालिकाभर फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकासँगै पर्साको सम्पूर्ण पालिकाहरुमा पनि आइतबारदेखि नै खोप अभियान सुरु हुने भएको हो ।

दुई चरणमा जिल्लाभरका बालबालिकाहरुमा दादुरा–रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जनाए ।

उनका अनुसार पहिलो चरणमा फागुन १३ भोलिदेखि फागुन २१ गतेसम्म महानगरको वडा नं ३ तथा पोखरिया र पर्सागढी नगरपालिका यसैगरि जीराभवानी, सखुवाप्रसौनी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा खोप लगाइनेछ ।

त्यस्तै दोस्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका ३१ वटा वडा, बहुदरमाई नगरपालिका, पकाहामैनपुर, ठोरी, छिपहरमाई, विन्ध्यवासिनी, धोबिनी र कालिकामाई गाउँपालिकाका बालबालिकाहरुलाई यो खोप लगाइने उनले बताए ।

अभियानबाट जिल्लाभरिमा दुई लाख एक हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षभित्र मुलुकलाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य लिएको छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०÷०८१ कार्यक्रम सञ्चालन निर्देशिकामा यस वर्ष देशलाई नै पूर्ण खोप घोषणा गर्ने लक्ष्य रहेको उल्लेख छ ।

हालसम्म ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । निर्देशिका अनुसार सातवटा प्रदेशहरूमध्ये गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पूर्ण खोप घोषणा भईसकेका छन् । बागमती, मधेस र कोशी प्रदेश पूर्ण खोप घोषणा हुन बाँकी छ ।

पूर्ण खोप सुनिश्चितताको लागि १६ महिना देखि २३ महिना उमेरसम्मका बालबालिकाले खोप लगाएको अवस्थाको पहिचान र विश्लेषण हुने गरेको निर्देशिकामा उल्लेख छ ।


सम्बन्धित समाचार