Logo

आजदेखि देशभर शुरु भएको दादुरा÷रुबेला खोप अभियानमा पर्सामा कुनैपनि बालबालिका नछुटाउने रणनीति लिएको छ ।

पर्सा जिल्लामा पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४ र अन्य ७ वटा पालिकामा खोप अभियान सञ्चालन हुने र दोश्रो चरणमा महानगरपालिकाको वडा नम्बर ४ बाहेकका सबै वडा र ७ वटा पालिकामा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।

खोप सञ्चालनका लागि वडाका स्वास्थ्य समिति र स्वास्थ्यकर्मीहरुबाट र विद्यालयहरुबाट बालबालिकाको जनसंख्याको लगत संकलन गरेको र जनसंख्याको आधारमा स्वास्थ्य मन्त्रालयले पठाएको लक्षित जनसंख्यालाई एकीकृत गरी त्यसबाट वास्तविक लक्षित संख्या यकिन गरेर खोप अभियान शुरु गर्न लागिएको अधिकृत ठाकुरले बताए । उहाँका अनुसार पर्सा जिल्लामा जनसंख्याको आधारमा १ लाख ९७ हजार ६ सय ३७ जना बालबालिकालाई खोप दिनुपर्ने लक्ष्य रहेको छ ।

त्यसका लागि १ हजार १ सय ४८ खोप केन्द्रमा २ हजार २ सय ९६ जना खोप दिने स्वास्थ्यकर्मी र ३ हजार ४ सय ४४ जना स्वयंसेवक परिचालन गरिएको छ । जिल्ला भरका ५ सय ९७ वटा विद्यालयमा बालबालिकाको तथ्यांक संकलन गरिएको र त्यसमध्य मदर्सामा ६ हजार ९ सय ३३ जना, निजी विद्यालयमा ७३ हजार ८सय ३ जना, सामुदायिक विद्यालयमा १ लाख २ हजार ४ सय ७२ जना बालबालिकालाई खोप दिनुपर्ने छ ।

विद्यालय अनुसार १ लाख ९३ हजार २ सय ८ जनसंख्यामा खोप लगाउनुपर्ने लक्ष्य रहेको छ । समुदायमा रहेको अनुमानित बालबालिको संख्या २२ हजार १ सय ५० र जिल्लाले अनुमान गरेको २ लाख १५ हजार ३ सय ५८ बालबालिकालाई खोप दिनुपर्ने देखिएको छ । पर्सा जिल्ला पूर्ण खोप घोषणा उन्मुख जिल्ला रहेको र जिल्लाको दुईवटा पालिका पकाहामैनपुर र कालिकामाई गाउँपालिकामा मात्रै खोप कार्यक्रममा थोरै समस्या भएपनि पूर्ण खोप पालिका भने घोषणा भईसकेको स्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो ।

पहिलो चरणमा फाल्गुन १३ गते आईतबारदेखि २१ गतेसम्म वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४, पोखरिया, पर्सागढी नगरपालिका, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा र दोश्रो चरणमा महानगरपालिकाको ४ नम्बर बाहेकका सबै वडा र बहादुरमाइ नगरपालिका, ठोरी, छिपहरमाइ, पकहामैनपुर, विन्दवासनी, धोबीनी र कालिकामाई गाउँपालिकामा खोप सञ्चालन गरिने छ ।


सम्बन्धित समाचार