Logo

१३ फागुन, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा नवजात जन्मिएकी शिशुलाई छाडेर आमा फरार भएकी छिन् । छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा हिंडेकी हुन् ।

वीरगञ्जको रानीघाट–६ ठेगाना टिपाएकी सीता देवीले हिजो बिहान साढे ६ बजे शिशुलाई जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि सीतासॅंग उनकी सासु बेडी देविले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताए । अस्पतालमै परिवारजनले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ ।

सीताका यसअघि तीन छोरी जन्मिएका थिए । उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिंडेका हुन् । आज मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिंडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिनुभयो ।

शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताउनुभयो । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले जानकारी दिनुभयो ।

उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाको भनाइ छ ।

उनीहरूको खोजतलास जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार