Logo

१५ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ।

नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। उपमहानगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा दरखास्त आव्हान गरेको हो ।

नेपाल प्रहरीले नगरभित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको नगर प्रमुख राजन पौडेलले बताए। सार्बजनिक सम्पत्तीको सुरक्षा गर्न , उपमहानगरपालिकाको निती नियम कार्यान्वयन गर्न ,आन्तरिक सुरक्षा ,सडकमा फोहोर गर्ने तथा सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको नगर प्रहरी ऐन २०७९ को दफा (१०) बमोजिम आवहान गरिएको दरखास्त अनुसार नगर प्रहरी सहायक निरीक्षक पदका लागि न्युनतम शैक्षिक योग्यता प्रविणता वा सो सरह राखिएको छ । सहायक स्तर चौथो तह तोकिएको सहायक निरीक्षक पदमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ४० वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।यसैगरी समावेशी प्रावधानसहित जवान पदमा १२ जना माग गरिएको छ ।

जसअनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले खुल्लामा सात, महिलामा दुई, आदिवासी तथा जनजातीमा एक, मधेसीमा एक र दलितमा एक गरी १२ पदका लागि आवेदन दिन सक्नेछन् ।जवान पदमा १८ वर्ष पूरा भई २३ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ३७ वर्षसम्मका नागरिकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

श्रेणी नतोकिएको उक्त पदका लागि आवेदन दिन न्युनतम १० कक्षा वा सो सरह उतिर्ण योग्यता हुनुपर्ने भनिएको छ ।सूचना अनुसार चैत्र ४ गतेसम्म इच्छुक नागरिकले आवेदन दिने सक्ने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार