Logo

१७ फागुन,बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताको अगाडि नगर प्रमुख (मेयर ) राजन पौडेल निरिह बनेका छन् । उपमहानगरपालिकाले सार्बजनिक जग्गामा जीतपुर स्थित हुलाक कार्यालय अगाडि नियमबिपरित बन्दै गरेको सटरहरु रोक्न आदेश दिएपनि वडा अध्यक्ष सुनिल गुप्ता त्यसलाई टेरेका छैनन् ।

उपमहानगरपालिकाले फागुन १४ गते वडा नं.७ को कार्यालय जीतपुरलाई अनाधिकृत निर्माणधिन संरचना रोक्न पत्रमार्फत आदेश दिएपनि अहिलेसम्म त्यो रोकिएको छैन् । वडा अध्यक्ष गुप्ताले आफुले नगरपालिकाको कुनै पत्र प्राप्त नगरेको जिकिर गरेका छन् ।

धर्मशाला तथा बिवाह मण्डपको डि.पि.आर.मा ब्यवसायिक सटर बनाउँनुपर्ने रहेकोले सो निर्माण गर्न गठन भएको निर्माण समितीले सटर बनाईरहेको बताए । उपमहानगरपालिकासँग बिवाह मण्डप तथा धर्मशाला निर्माण सम्बन्धमा कुनै किसिमको सम्झौता तथा कार्य आदेश नदिएपनि कहाँबाट पैसा आएर संरचना बनिरहेको प्रश्नमा वडा अध्यक्ष गुप्ताले निर्माण समितीका अध्यक्ष मनिष दाहालसँग यो प्रश्न सोध्नुस भन्नेर पन्छिए ।

सर्बपक्षीय बैठकले निर्माण समिती बनाएको छ ,जसको अध्यक्ष मनिष दहाल हुन् उहाँसँग कुरा गर्न अनुरोध गरे ।निर्माण भईरहेको सटर अस्थाई हो ,अस्थाई सटर निर्माण गरेर आएको पैसा बिद्यालयमा शिक्षकको तलब दिन ,स्वास्थ्य चौकीमा कर्मचारी राख्न वा बिवाहमण्डप सञ्चालन गर्न प्रयोग हुने भएकाले यो नियमसंबत भएको तर्क गरे ।

सड्क छेउमा कसैले पनि नक्सा पास गराएर घर नबनाएका कारण आफुले पनि अस्थाई संरचना त्यही हिसाबले बनाएको बताए ।उनले कसैबाट सटर निर्माणकोलागि पैसा नउठाएको बताए ।

यता जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले हुलाक कार्यालय अगाडिको जग्गामा धर्मशाला तथा बिवाह मण्डप बनाउँन कसैलाई कार्य आदेश नदिएको र यो निर्माण गर्न समिती रहेको बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए । नगर स्तरीय बजेटको निर्माण समिती तथा उपभोक्ता समिती बनाउँदा नगर प्रमुख तथा उप प्रमुखको अध्यक्षतामा गठन गर्नुपर्ने भएपनि त्यस्तो नगरिएको जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाले २० लाख भन्दा माथिका योजनाहरु ई बिडिङ्गको माध्यमबाट गर्नुपर्ने नियम नगर सभाबाट पास भएकाले समिती बनाएर यस्तो कार्य गर्न नमिल्ने बताए । आफुहरुले निर्माण कार्य रोक्न निर्देशन दिँदा पनि निर्माण कार्य रोकिएन् भने निर्माण भएको भौतिक संरचना उपमहानगरपालिकाले डोजर लगाएर भत्काउँने जानकारी दिए ।

नगर प्रमुख पौडेलले बिना सम्झौता ,बिना कार्यादेश नियमबिपरित कुनै पनि संस्थाले आफनो कार्य अगाडि बढाउँदैन् ।त्यसैले त्यस्तो कार्य वडा कार्यालयले होईन् ब्यक्तिले गरेको हुन सक्ने तर्क गरे ।यता जीतपुरसिमरा नगर स्तरीय बिभिन्न पार्टीका प्रतिनिधिहरुले अबैध रुपमा निर्माण भईरहेको भौतिक संरचनाहरु रोक्न नगर प्रमुख राजन पौडेललाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले यथाशिघ्र निर्माण कार्य रोक्न उपमहानगरपालिकासँग माँग गरेका छन् ।

ज्ञापन पत्र बुझाउँने कार्यक्रममा नगर प्रमुखका प्रत्यासी संजय कुमार साह ,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल ,पुर्ब वडा अध्यक्ष सरोज पटेल,वडा अध्यक्षका प्रत्यासी तथा लोसपाका राजुराज गिरी ,नेपाली काग्रेसका शेखर भण्डारी ,एकीकृत समाजवादीका नगर सचिव कपुर राज पुरी , प्रदेश सभा सदस्यका प्रत्यासी सन्तोष कुश्वाहा ,समाजसेवी तथा नगर उद्योग बाणिज्य संघका कोषाध्यक्ष रामबाबु कलवार, पुर्ब वडा सदस्य शक्ति गुप्ता लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार