Logo

९ चैत,बर्दीबास । आमाको दुध सर्वोत्तम आहार मानिन्छ । यसको महत्व दर्शाउन अमृतधारा, प्रकृतिको अमूल्य उपहार जस्ता शब्दावलीको प्रयोग गरेको पाइन्छ । चिकित्सकहरुले स्वस्थ्य समाज निर्माणका लागि जन्मेको एक घण्टाभित्र र ६ महिनासम्म आमाको दुध खुवाउन अनिवार्य गरेका छन् ।

तर स्तनपानको दृष्टिले मधेशका आमाहरु भने आफ्नै सन्ततिप्रति निर्मम देखिएका छन् । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख विनोद यादवका अनुसार जन्मेको एक घण्टाभित्र मधेश प्रदेशका ४५ प्रतिशत आमाले स्तनपान गराउँदैनन् भने पूर्ण स्तनपान (जन्मेको ६ महिनासम्म) नगराउने आमाको सङ्ख्या ३५ प्रतिशत पुगेको छ।

स्तनपान नगराउने प्रवृत्ति अनेकन स्वास्थ्य समस्याको कारण बनेको र आर्थिक सामाजिक दृष्टिले पनि यो प्रत्युत्पादक भएको शाखा प्रमुख यादवले जनाउनुभयो । युनिसेफकी पोषण अधिकृत सुमी मास्केले ६ महिनासम्म पनि आमाको दुध खुवाउने हो भने बाल मृत्युदर २० प्रतिशतसम्म घटाउन सकिने जनाउनुभयो । आमाको दुध वातावरण मैत्री, सम्पूर्ण आहार र रोग प्रतिरोधका लागि पहिलो खोपसमेत भएकोले स्तनपानको पूर्ण पालनाले बट्टाको दुधमा खेर गइरहेको अर्बाैं रुपियाँ बचत हुने तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदन अनुसार स्तनपान नगराउने प्रवृत्ति अशिक्षितभन्दा शिक्षित र गाउँभन्दा सहरका आमामा बढी देखिएको छ । आमाहरुका लागि अज्ञानता, कार्यव्यस्तता, जागिर जस्ता चाहेर पनि स्तनपान गराउन नसकिने बाध्यात्मक अवस्था त छँदैछन् त्योभन्दा पनि बट्टे दुधप्रतिको भ्रमित विश्वासले पूर्ण स्तनपान नगाराइएको अवस्था टड्कारो समस्या भएको उहाँले बताउनुभयो ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख विनोद यादवले प्रतिवेदन उद्धृत गर्दै मधेश प्रदेशमा १२ प्रतिशत बालबालिकालाई दुधदानी (बोटल फिडिङ) बाट दुध खुवाउने गरिएको छ । बट्टे दुधको आकर्षक विज्ञापनको भ्रममा परेर बिचमै आमाको दुधको साटो दुधदानीमा पाउडर दुध ख्वाउने प्रवृत्ति चुनौतीका रुपमा देखिएको छ । यो प्रवृतिलाई निरुत्साहित गर्न मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले युद्ध स्तरमा अभियान सञ्चालन गरेको पोषण शाखा प्रमुख यादवको दाबी छ ।

नेपालले ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली २०५१ लागु गरेको छ । यसको प्रभावकारी कार्यान्वयन र आमाको दुध प्रतिस्थापन गर्ने वस्तुको नियमनलाई कडाई साथ पालना गर्न गराउन निर्देशनालयले दक्ष जनशक्ति परिचालत गर्ने जनाएको छ । यसका लागि निर्देशानालयले उक्त ऐनको सघन कार्यान्वयनका लागि बर्दीबासमा बिहिवारदेखि ३ दिने क्षमता अभिवृद्धि अभिमुखीकरण सुरु गरेको छ ।

कार्यक्रममा ८ वटै जिल्लाका स्वास्थ्य प्रमुख, पोषण फोकल पर्सनहरु, २० पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु पोषणसम्बन्धी काम गर्ने युनिसेफ, वर्ल्ड भिजन, सेभ द चिल्ड्रेन, विश्व स्वास्थ्य सङ्गठनसमेत ६० जनाको सहभागिता छ । कार्यक्रमका प्रमुख प्रशिक्षक एव कानुनविद् सिंह ऋषि काफ्लेले ‘आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तुको (विक्री वितरण नियंत्रण) ऐन, २०४९ र नियमावली २०५१ को प्रभावकारी कार्यान्वयका लागि अवलम्बन गर्नु पर्ने विधिसम्मत प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो ।

“कानुनको प्रभावकारी कार्यान्वयन र सचेतीकरण अभियानले सन् ३० सम्म यो लक्ष्य पूरा गर्न सहयोग पुग्ने विश्वाुसाथ मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले यस्ता कार्यक्रम अघि बढाएको हो,“ पोषण शाखा प्रमुख विनोद यादवले भन्नुभयो ।साभार गोरखापत्र


सम्बन्धित समाचार