Logo

१३ चैत,वीरगञ्ज । गएराती हावाहुरीसँगै परेको असिना पानीका कारण पर्साका ग्रामीण किसानले लगाएका बालीमा क्षति पुगेको छ । पानीका कारण किसानहरुले लगाएका दोस्रो मुख्यबाली गहुबालीमा क्षति पुगेको हो ।

पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोला निवासी किसान ढोडा साह तुरहाका अनुसार रातीको बर्षाका कारण गहुका बोटहरु ढल्दा उत्पादनमा कमि आउने आंशका छ । गँहुका बालामा दाना लागेपनि गहु ढलेकाले उत्पादनमा २५ प्रतिशत कमि आउने किसान तुरहाले बताउनुभयो । यसपाली गहुबाली राम्रो भए पनि केही दिनदेखि आएका हावाहुरी तथा बेमोसमी बर्षाका कारण बालीमा क्षति पुगेको किसान तुरहाले बताउनुभयो ।

गएराती परेको पानीका कारण रविबालीमा पनि क्षति पुगेको छ । रविबाली अन्तर्गत मुसुरो, खेसारी, केराउ तथा आलस उखेलेर सुकाउनका लागि खेतमा राखेका बेला लागातारका बर्षाले कुहिन थालेका किसानहरुले बताएका छन् । गत बुधबार र बिहिवार परेको पानीले भिजेका बाली राती पुनः भिज्दा यी बालीका दानाहरु नै कुहिने अवस्थामा पुगेको किसानहरुले बताएका छन् । त्यस्तै पानीका कारण नगदे बालीमा पर्ने सुर्तीमा पनि क्षति पुगेको छ ।

कतिपय किसानहरुले टिपेका सुर्तीका पात सुकाएर भित्रियाएका छन भने भित्रिउन बाकी रहेका पात भिजेर कातो बन्दै गएका जिराभवानी गाउँपालिका –२ सेढवाका किसान जगदिश चौधरीले बताउनुभयो । पात कालो भएर कमसल भएका र सोको मूल्य पनि कम हुने उहाँले बताउनुभयो । साथै कुहिएका पात बिक्री गर्न नसक्ने किसान चौधरीले बताउनुभयो ।

खेतीमा ठूलो रकमको लगानी गरी उत्पादन गरेका पातलाई फाल्नु पर्दा किसानलाई निकै क्षति भएको चौधरीले बताउनुभयो । यसका साथै लसुन, प्याज, खुर्सानी तगायतका तरकारीबालीमा समेत क्षति पुगेको छ ।

गएराती परेको पानीले केही बालीलाई फाइदा पनि पुगेका छ । मकैबाली, उखुवाली र चैते धानबालीमा गएरातिको पानीले फाइदा पुगेको छ ।


सम्बन्धित समाचार