Logo

१३ चैत,सेढवा । पर्साको ग्रामीण भेगमा चैते धानबालीको रोपाई शुरु गरिएको छ । जिल्लाका उत्तरी थरुहठ क्षेत्रमा पर्ने ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, पर्सागढी र बीरगंजको केही वडाहरुमा चैते धानबाली अन्तर्गत हर्दिनाथ–१ (१४४२) जातका धानको रोपाई शुरु गरिएको हो ।

यसअघि हिउँदे बालीका रुपमा लगाईएको तोरी र सुर्तीबाली भित्र्याइ सकेर खाली रहेका जग्गामा चैते धानबालीको रोपाई शुरु भएको हो । जीराभवानी गाँउपालिका वडा नम्बर २ काठमान्डौटोल निवासी रामेश्वर साहले फागुनमा बिऊ ब्याड हालेको र अहिले रोपाई शुरु गरेको बताए । गँहु तथा अन्य बाली लगाएर जमिन खाली नभएका किसानहरूले भने बिउ राखेका र गँहुबाली भित्र्याए लगत्तै रोपाई सुरु गर्ने उनको भनाइ छ ।

त्यस्तै ठोरी गाउँपालिका क्षेत्रीलाईनका किसान देवी प्रसाद दाहाल चैते धानबालीको रोपाई धमाधम भइरहेको बताउँछन् । होली पर्व सकिएसँगै बिउ तयार भएकोले चैते धानबालीको रोपाईमा किसानहरु व्यस्त भएको उनले जानकारी दिए ।
गएरातीको असिना पानीका कारण पनि किसानहरुलाई रोपाईका लागि सिचाँईमा सहयोग पुगेको उनको जिकिर छ । उनका अनुसार हिजोको पानीले किसानहरुले कम समय दमकल चलाएर रोपाई गरिरहेका छन् । उनका अनुसार सो क्षेत्रमा रहेको खेतीयोग्य जमिनमा ८० प्रतिशत भन्दा बढि क्षेत्रफलमा यो बाली लगाइन्छ ।

यो बाली लगाउँदा रोपाईपछि ९० दिनमा यो बाली भित्र्याइन्छ । अर्थात् अहिलो रोपाई गरिएको बाली असारको पहिलो सातादेखि दोस्रो सातासम्म किसानहरुले काट्ने गर्छन् । सो खेतमा अर्को बाली भदैया मंसुली वा सोना मंसुली धानको रोपाई गर्न सकिने किसानले बताएका छन् ।

गतवर्ष किसानहरुले यो बाली पाँचदेखि आठ मन (२०० केजी देखि ३२० केजी) प्रति कठ्ठाको दरले उत्पादन गरेका थिए । जसका कारण यसपाली यो बालीतर्फ किसानको आकर्षण बढेको छ ।


सम्बन्धित समाचार