Logo

१३ चैत,काठमाडौं । अमेरिकाको बाल्टिमोरमा स्थानीय समय अनुसार बिहान १ः३० बजे सिंगापुरको जहाज स्थानीय ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किँदा २० जना बेपत्ता भएका छन् । ठक्करका कारण पुलको ठूलो भाग भत्किएको छ ।

बाल्टिमोर सिटी फायर डिपार्टमेन्टका प्रवक्ता केभिन कार्टराइटले यस दुर्घटनामा ठूलो क्षति भएको बताए।

उनले अमेरिकी समाचार च्यानल सीबीएस न्यूजलाई भनेअनुसार राहत र उद्धार टोली घटनास्थलमा पुगेका छन् र पाटाप्सको नदीमा डुबेका २० जनालाई बचाउन व्यस्त छन्।

उनले थप जानकारी पाएपछि स्थिति परिवर्तन हुने अपेक्षा गरिएको बताए । अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन ।

बाल्टिमोर फायर डिपार्टमेन्टका प्रवक्ताले बाल्टिमोर पुल दुर्घटनामा ‘धेरै मानिसको मृत्यु हुन सक्ने’ बताएका छन्। उनका अनुसार दुर्घटना भएको ठाउँको तापक्रम माइनस एक डिग्री थियो ।

अर्कोतर्फ ‘डाली’ नामक जहाज सञ्चालन गर्ने कम्पनी सिनर्जी मरिन ग्रुपले सो दुर्घटनामा जहाजका चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ । यद्यपी घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन ।


सम्बन्धित समाचार