Logo

२२ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यसवर्ष पनि ‘रात्रि बजार’ लाई निरन्तरता दिने भएको छ । नयाँ वर्ष र ईदको अवसर पारेर यहि चैत २९ गते बेलुकादेखि ३ दिनसम्म रात्री बजार लगाउने तयारी महानगरको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म महानगरपालिकाले ‘रात्रि बजार’ लगाउने तयारी गरेको हो ।

गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यसवर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन बजार लगाउन लागिएको महानगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । सुस्ताएको व्यापार व्यावसायलाई चलायमान बनाउने अपेक्षासहित महानगरपालिकाले रात्री बजार लगाउने गर्दछ ।

रात्री बजार लाग्ने समयावधिभर वीरगञ्ज नाका रातभर खुला हुने प्रमुख सिंहले बताउनुभयो । भारतीय नागरिकहरुलाई पर्ने समस्यालाई मध्यनजर गर्दै बजार लाग्ने समयावधिभर नाका रातभर खुल्ला राख्ने उहाँले बताउनुभयो ।

तीन दिन सम्म २४ सै घण्टा नाका खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सुरक्षा निकायसँग सहमति भइसकेको उहाँले जानकारी दिनुभयो । आज महानगर प्रमुख सिंहको कार्यकक्षमा सरोकारवालाबीचको छलफलमा रात्रि बजार सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहकार्य गर्ने सहमति भएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार