Logo

६ वैशाख,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका लगायत ग्रामीण भेगमा बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको छ । मौसममा परिवर्तन आएर गर्मी बढेसँगै ग्रामीण भेगमा मौसमी बिरामीहरुको सङ्ख्यामा वृद्धि भएको हो ।

अहिले यस क्षेत्रका बालबालिकादेखि वृद्धवृद्धा ज्वरो आउने, रुघाखोकी, पखाला लाग्ने, वाकवाकी लाग्ने र शरीर दुख्ने लगायतका रोतबाट ग्रसित छन् । बिरामीको सङ्ख्यामा वृद्धि भएपछि स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरूमा उपचार गराउन पुग्नेहरुको भीड बढेको चिकित्सहरु बताउँछन् ।

लामो समयदेखि वर्षा नहुँदा गर्मी अत्याधिक बढेर ग्रामीण भेगमा मौसमी बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको पर्सागढी नगरपालिका वडा नम्बर ३ निवासी लक्ष्मण चौधरीले जनाए । राम हेल्थ क्लिनिक बडनिहारका स्वास्थ्यकर्मी रामबाबू साहले बिहानको समयमा चिसो हुने र दिनभरि चर्को घाम र गर्मी हुँदा मौसमी बिरामीको सङ्ख्यामा वृद्धि भएको बताए ।

बालबालिकादेखि वृद्धवृद्धालाई अहिले ज्वरो आउने, पखाला लाग्ने, वाकवाकी लाग्ने र शरीर दुख्ने गरेपछि उपचारको लागि आउने गरेको उनको भनाइ छ । उनले मनतातो पानी पिउन, झोलिलो खानेकुरा बढी मात्रामा खान, भीडभाडमा नजान र स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी सेवन गर्न सुझाएका छन् ।


सम्बन्धित समाचार